परलोक गएका भानु एक्कासी पृथ्वीमा आए । कता जाउँ कता जाउँ भएपछि उनी एउटा गाउँमा जाने निर्णय गरे । तल, धेरै तल बाक्लै घरहरू देखे अनि हान्निएर ओरालो लागे । शहरमा त भाषा पक्कै फरक होला भनेर गाउँको भाषा बुझ्न उनलाई मन लाग्यो ।बाटोमा जाँदा एउटा सानो बालक देखे ।
उनले सोधे -” बाबू तिम्रो नाम ?”
उसले जवाफ दियो – ” म कृष्ण !
” उसले सोध्यो तपाईं कताबाट आउनुभएको ?
भानुभक्तले सोझो जवाफ दिएनन् किनकि परलोकबाट आएको भन्दा मानिसहरू डराउँछन् तर्सिन्छन् भन्ने उनलाई लाग्यो । उनले भने काठमाडौँबाट आएको ।
तिम्रो बुवा खोइ त भानुभक्तले सोधे ।
बालकले घर पुगेर खाटमा बसिरहेका बुढालाई देखायो ।
उनले मनमनै सम्झे केटो त सानो छ तर उसका बुवा त पाका रहेछन् । आजकल ढिला बिहे गर्ने चलनले होला ।
अनि हजुरबुवा खोइ तिम्रो ? फेरि सोधे ।
बालक अलमल्ल पर्यो । उसले भन्यो -” हाम्रो त बुवा मात्र हुनुहुन्छ, हजुरबुवा हुनुहुन्न ।”
केही बेरपछि एकजना मान्छे आए घरमा ।
बालकले भन्यो -” उहाँ मरो बाबा हो ।”
भानुभक्त एकछिन् अलमलिए अनि बल्ल बुझे । बुवालाई त बाबा भन्दो रहेछ बालक । बुवा चाँहि हजुरबुवालाई भन्दो रहेछ । भानुभक्त अर्को घरतिर लागे । तमाम घरहरू डुले । दिदीलाई दिज्यू, दाजुलाई दादा, भाउजूलाई भाबी यसरी नै भनिदोरहेछ भन्ने बुझे । यी सबै कुरा त थाहा पाए ।
फेरि अर्को बालकसँग भेट भयो । उनले सोधे -” आमा कहाँ हुनुहुन्छ बाबू ?
” उसले भन्यो – ” हाम्रो आमा हुनुहुन्न । हामी चारजनाको परिवार छौ । बाबा, ममी, बहिनी र म ।”
अब भानुभक्तलाई पर्यो फसाद । उनले लामो श्वास फेरेर भने -” ममी भनेको को हो ? खै देखाउ त !” उसले घरमा लग्यो र देखायो । बल्ल बुझे उसले आमा भनेको रहेछ ।
सबैलाई नेपाली भाषा बचाउन अनुरोध गर्दै भानुले भने -” भाषाको शक्ति देख्नु भयो होइन ? ” उताबाट जवाफ आयो – ” देखियो, प्रधानमन्त्रीको सपथ नै पो रोकिएछ ।”