पाँचथर- कवि डा. अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ कविता सङ्ग्रह विमाेचन भएको छ । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सभामा कृतिकाे लोकार्पण भएको घोषणा गरिएको थियो । प्रदेश एकका पूर्व प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङले कवि विष्टका कविताहरूले व्यक्तिगत रूपमा प्रभावित गरेको बताए ।
सर्जक विष्टले कविता सङ्ग्रह पाठकहरूलाई सुम्पिएकाे बताउँदै आफ्नो पहिलो कृतिमा आफ्नो कविताप्रति प्रेम पाेखेकाे जनाइन् । कलरव र महेन्द्र बहुमुखी क्याम्पसकाे अङ्ग्रेजी विभागले आयोजना गरेको कार्यक्रमकाे दाेस्राे चरणमा कृतिमाथि विमर्श समेत गरिएको थियोे ।
कृतिउपर बाेल्दै कवि टीका आत्रेयले सङ्ग्रह समग्रमा अब्बल दर्जाको भएको भन्दै नारीवादलाई उत्तिकै महत्त्वका साथ प्रस्तुत भएको बताइन् । उनले कवि विष्टले पुरातन संस्कृतिका रूढवाद र दुर्बल पक्षहरूलाई समेत चुनौती दिएको दाबी गरिन् । उपप्राध्यापक दीपक न्यौपानेले किताबमाथि टिप्पणी गर्दै विम्ब र प्रतीकहरूकाे पर्याप्त मात्रामा सर्जकले प्रयोग गरेको कुरा राखे । न्यौपानेले समीक्षकका रूपमा परिचय बनाइसकेकी कवि विष्टले कविताहरूमा पनि आफ्नो सामर्थ्य देखाएको बताए ।
कवि विष्टले कृतिमा प्रेमकाे विषय मात्रै नभएर सामाजिक बेथिति, साँस्कृतिक उत्पीडन र नयाँ पुस्ताको मनाेभावलाई समेत उन्ने प्रयास गरेको प्रष्ट पारिन् । विमर्शलाई कवि अमित थेवेले सहजीकरण गरेका थिए
। साे अवसरमा सङ्ग्रहबाट कवि चन्द्र गुरुङले ‘तिम्रो बेवास्ताकाे झरीले, करुणा राईले ‘घुँग्रिएकाे केश’, सुदीप पाख्रिनले ‘नियतिकाे धारमा रेटिएका तिमी’, सविता फागाे चाेङवाङले ‘एक सर्काे उज्यालो’, श्रेया खड्काले ‘यादकाे धागाे’ वाचन गरे । कार्यक्रममा विष्टले ‘सम्झनाको तोरनमा टाँगिएका बा’ शीर्षकको कविता वाचन गरेपछि पुस्तकको लोकार्पण भएको घोषणा गरिएकाे थियोे ।
कार्यक्रममा प्राध्यापकहरू डा. गाेपाल भण्डारी, डा. खेम दाहाल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, कविहरू प्रदीप मेन्याङ्वाे, राज माङ्लाक, देवान किराती, बद्री भिखारी, प्रज्ज्वल पराजुली, पराजित पाेमु, राेम ढुंगेल, मिश्रा गुरुङ, केपी घिमिरे लगायतको उपस्थिति रहेको थियोे ।
दुई दशकदेखि महेन्द्र बहुमुखी क्याम्पस धरानमा अंग्रेजी विषय प्राध्यापन गराउँदै आएकी अस्मिता विष्टका लैङ्गिक दृष्टिकोणबाट नेपाली आख्यान र सिनेमा बारे चार दर्जन बढी लेखहरू प्रकाशित छन् । उनले ‘कन्फाइन्मेन्ट ट्रान्सग्रेसन लिवरेसन : डाइनामिक्स अफ जेण्डर रोल इन कन्टेम्पोररी नेपाली नोबल्स एण्ड फिल्मस्’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन् । इन्डिगो इन्कले प्रकाशन गरेको उक्त सङ्ग्रहभित्र ४५ वटा कविता समावेश छन् ।