पाँचथर । डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट अभियान तथा जनचेतनामूलक कार्यक्रम पाँचथरमा सम्पन्न गरिएको छ।
स्वास्थ्य कार्यालय पाँचथरको आयोजनामा भएको सो कार्यक्रममा विभिन्न सरकारी कार्यालय, सुरक्षा निकाय र स्थानीयवासीहरूको सहभागिता देखिएको थियो।
कार्यक्रममा सहभागीहरू हातमा पम्प्लेट र ब्यानरसहित लामखुट्टेको बासस्थान जस्तो कि पानी जम्ने भाँडाकुँडा, टायर, गमला लगायतका ठाउँहरू सफा गरी डेंगी फैलन नदिने सन्देश दिन सडकमा निस्किएका थिए।
“डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट अभियान तथा जनचेतनामूलक कार्यक्रम”
“सुरक्षित रहौं, रोकथाम गरौं, नियन्त्रण गरौं”
कार्यक्रमको नेतृत्व स्वास्थ्य कार्यालय पाँचथरले गरेको हो, जसमा फिदिम नगरपालिका वडा नं १ का वडाध्यक्ष गजाधर भट्टराई , फिदिम ४ का उपेन्द्र लावती ,उद्योग बाणिज्य सङ्घ पाँचथर अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी,सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र नागरिकहरू एकजुट भएर रोग फैलिन नदिनको लागि सचेतना फैलाएका थिए।
स्वास्थ्य कार्यालयका अनुसार हालैको वर्षायामसँगै डेंगी संक्रमणको जोखिम उच्च भएकाले सावधानी अपनाउन र लामखुट्टेको प्रजननस्थल नष्ट गर्न विशेष अभियान थालिएको हो।