पाँचथर । गत असोज १८ गते राति आएको अविरल वर्षाले पाँचथर जिल्लाको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाकाे नवमिडाँडा जोड्ने मुख्य सडक खण्डमा पर्ने शिवा खोलाको पुल बगाएपछि फिदिम–नवमिडाँडा बीचको यातायात सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ। पुल बगेसँगै फिदिम–६ बाह्रमुरे छेउमा खोल्सीबाट आएको बाढीले सडकभरि ठूला ढुंगाहरू थुपारिदिँदा सडक खण्डहरमा परिणत भएको छ।
यो सडक नवमिडाँडाका साथै शिवा क्षेत्रका बासिन्दा सदरमुकाम फिदिम पुग्ने प्रमुख मार्ग हो। सडक अवरुद्ध भएपछि स्वास्थ्य सेवा, खाद्य आपूर्ति, प्रशासनिक काम लगायत दैनिक जीवनका क्रियाकलापमा गम्भीर असर परेको छ। बिरामी, वृद्ध, बालबालिका लगायतका नागरिकहरू अत्यावश्यक सेवाबाट बञ्चित भएका छन्।
सडक बन्द भएको ३ दिन बितिसकेको छ। फिदिम–२ र फिदिम–५ मा झरेका साना पहिरोहरू स्थानीय सरकारको पहलमा पन्छाइएको भए पनि शिवा खोलाको पुल पुनःनिर्माण नभएसम्म सम्पर्क पुनःस्थापना सम्भव देखिएको छैन। बाह्रमुरे छेउको सडकमा थुप्रिएका ढुंगाहरू हटाउन डोजर परिचालनको तयारी भइरहेको जनाइएको छ।
स्थानीय जनप्रतिनिधिहरूले छिटो अस्थायी पुल निर्माण, सडक मर्मत, र दीर्घकालीन समाधानका लागि पक्की संरचना निर्माणको माग गरेका छन्।
सडक नखुल्ने अवस्था लामो समयसम्म रहन गएमा शिवा र नवमिडाँडाका बासिन्दा थप संकटमा पर्ने सम्भावना रहेको छ। खाद्य अभाव, औषधि आपूर्ति, र आकस्मिक सेवामा पहुँच नहुनुका कारण जनजीवन थप जटिल बन्ने देखिएको छ। स्थानीय बासिन्दाहरूले सरकारसँग द्रुत कार्यान्वयन र स्थायी समाधानको प्रतिबद्धता माग गरेका छन्। उनीहरूको भनाइमा, “सडक नखुल्दा हामी फिदिम पुग्न सक्दैनौं, अस्पताल जान सक्दैनौं, जीवन नै बन्दी बनेको छ।”