पाँचथर । पाँचथरको शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक सञ्चालनमा आएको छ। पूर्वाधार विकास कार्यालय पाँचथरले सडक खुलाएको जानकारी दिएकाे छ।
गत असोज १८ गते राति परेको अविरल वर्षापछि शिवाखोलामा आएको बाढीले शिवाखोलाको कजवे बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। स्थानीय बासिन्दाका लागि आवतजावतमा ठूलो समस्या सिर्जना भएको थियो।
सडक सञ्चालनमा आएसँगै लुम्फाबुङ–नवमीडाँडा–शिवाका नागरिकहरूले अब सदरमुकाम फिदिमसँग पुन: यातायात सम्पर्क प्राप्त गर्न सकेका छन्। सडक अवरुद्धका कारण दैनिक आवतजावत, विद्यालय जानुपर्ने विद्यार्थी र दैनिक आवश्यकताका सामग्री ढुवानीमा समस्या परेको थियो।
पूर्वाधार विकास कार्यालय पाँचथरका इन्जिनियर मुकेशराज शाहाले जानकारी दिए कि सडक अब सामान्य रूपमा सञ्चालनमा आएको छ र स्थानीय नागरिकहरूले सहज रुपमा आवतजावत गर्न सक्ने भएका छन्। सडक सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाको जीवन सामान्य हुने अपेक्षा गरीएकाे छ । यद्यपि, वर्षा र खोलाको बहावलाई ध्यानमा राखेर आगामी दिनमा सतर्क रहनुपर्ने आवश्यक रहेको कार्यालयले जनाएको छ।