पाँचथर । गत असोज १८ गते राति परेको अविरल वर्षापछि पाँचथरका धेरै बस्ती संकटमा परेका छन् । फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलाको डाइभर्सन बग्दा फिदिम–१०, ११, १२, १३, र फालेलुङ–५, ६, ७, ८ वडाका बासिन्दा सदरमुकाम फिदिमसँग सम्पर्कविहीन बनेका छन् । फिदिम ६ शिवामा रहेको शिवाखोलाको पुल बगाउदा फिदिम ६ र फाल्गुनन्द–१ का बासिन्दाकाे पनि जनजीवन प्रभावित भएको छ ।
फिदिम–१३ को त्रिवेणी पुल र फिदिम–६ मा रहेको शिवा खोलामा आएको क्षतिले जनजीवन थप कठिन बनेको छ । बिरामीलाई अस्पताल पुर्याउन, औषधि र खाद्यान्न आपूर्ति गर्न स्थानीयहरूलाई ठूलो कठिनाइ भोग्नु परेको छ । फालेलुङ–७ का स्थानीय धनकुमार लावतीले भने, “बिरामी परे पनि काँधमा बोकेर अस्पताल ल्याउनुपर्छ । बाटो छैन, बाटो छुटेको छ । बालबालिका, बृद्धबृद्धा, बिरामी सबैका लागि जीवन साँच्चिकै कठिन भएको छ । पानी, खानेकुरा र औषधि ल्याउन पनि चुनौतीपूर्ण छ ।”
स्थानीयहरूले बताएअनुसार, फिदिम–१०, ११, १२, १३ र फालेलुङ–५, ६, ७, ८ का बासिन्दा अहिले सदरमुकामसँग सम्पर्कविहीन छन् । बिरामी परेमा अस्पताल पुर्याउन, विद्यालय जाने विद्यार्थीहरूलाई पढाइमा पुग्न, खाद्यान्न र दैनिक आवश्यकताहरू जुटाउन पनि ठूलो कठिनाइ भइरहेको छ ।
यसैबीच नेपाली सेनाले फेमे खोलामा अस्थायी फड्के पुल निर्माण सुरु गरेको छ । पुलले पैदल आवतजावतलाई सहज बनाउनेछ, तर मोटरसाइकल वा अन्य सवारीसाधन चलाउन भने सम्भव छैन । स्थानीयहरूले आशा गरेका छन् कि अस्थायी पुलले केही राहत त दिनेछ, तर स्थायी समाधान अझै आवश्यक छ ।
खोलाको क्षतिपछि फिदिम–६, फिदिम–१०, ११, १२, १३, फालेलुङ–५, ६, ७, ८ र फाल्गुनन्द–१ का बासिन्दा अहिले घरभित्र सीमित छन् । “हरेक वर्ष यही खोलाले हाम्रो जीवनलाई अलग बनाउँछ, अब स्थायी समाधान आवश्यक छ,” फिदिम–११ बिष्णु अधिकारीले भने ।पाँचथरका यी बस्तीहरू अहिले पानी, स्वास्थ्य सेवा र खाद्यान्नको अभावसँग संघर्ष गरिरहेका छन् । अस्थायी फड्के पुलले केही राहत दिएको भए पनि स्थानीयको जीवन अझै कठिनाइपूर्ण बनेको छ ।
स्थानीय बासिन्दाहरूले पुनः पुल बग्न नदिने, स्थायी पुल निर्माण गर्नुपर्ने माग राखेका छन् । “हाम्रो जीवन सुरक्षित बनाउन अब ढिला गर्न मिल्दैन,” धनकुमार लावतीले जोड दिए ।