झापा । मेचीनगर ९ धुलाबारीस्थित भित्री सडक खण्डमा बाटो पिच गर्ने क्रममा भएको आगलागीमा परेर एक जना सख्त घाइते भएका छन् । निर्माण कार्यमा खटिएका सिरहा जिल्ला लक्ष्मीपुर पतारी गाउँपालिका ६ का उमेशकुमार राय आगो निभाउने क्रममा घाइते भएका हुन् । उनको अनुहार, दुवै हात र खुट्टामा आगोको रापले पोलेको झापा प्रहरीले जनाएको छ ।
हाल उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । आगो स्थानीय, सुरक्षाकर्मी, मेचीनगर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति साढे ९ बजेतिर नियन्त्रणमा आएको थियो । विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यस सडक खण्डमा सोमबार राति निर्माण व्यवसायी कम्पनी कञ्चन निर्माण सेवाले बाटो पिच गरिरहेको थियो ।
एक स्थानीयका अनुसार आगलागी तत्काल नियन्त्रणमा आउन सक्ने अवस्था थिएन । जसका कारण दमकल बोलाएर आगलागी नियन्त्रणमा लिइयो । अलाकत्राको ट्यांकर चालक सिन्धुली सुनकोशी गाउँपालिका ७ का गणेश दाहाल सकुशल रहेका छन् । ट्यांकर भने पूर्ण रुपमा जलेको छ ।
क्षतिबारे विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट करिव २० लाखको क्षति भएको कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले बताएका छन् ।