पाँचथर । लगातारको अवरोधपछि इलामदेखि पाँचथरसम्मको मेची राजमार्ग पुनः सञ्चालनमा आएको छ। राजमार्ग सञ्चालनमा आएसँगै फिदिम–बिर्तामोड यातायात सेवा क्रमिक रूपमा सहज बन्दै गएको यातायात व्यवसायी प्रदीप केरुङले केन्जो खबरलाई जानकारी दिएका छन्।
उनका अनुसार बुधबार साँझ मेची राजमार्गअन्तर्गत पुवाखोला–नेपालटार सडकखण्डको बन्चरे गोलाई र मील गोलाई क्षेत्रका अवरोध हटाइएपछि राजमार्ग सुचारू भएको हो। यसअघि नै फिदिम–राँके र जोरकलस–माइखोला सडकखण्ड सञ्चालनमा आइसकेका थिए।
हाल इलाम–माइखोला छेउको राजदुवाली खण्डमा मात्र अवरोध बाँकी रहेको छ। सो खण्डमा अवरोध हटाउने कार्य तीव्र गतिमा भइरहेको र सकेसम्म छिट्टै सवारी सञ्चालन गर्ने प्रयास भइरहेको केरुङले बताए। सडक डिभिजन कार्यालय इलामले पनि उक्त क्षेत्रमा लगातार मर्मत कार्य जारी रहेको र मौसम अनुकूल रहेमा सकेसम्म छिट्टै सवारी सञ्चालन गर्ने प्रयास राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ।
केरुङका अनुसार राजदुवाली खण्डमा अवरोध कायम रहे पनि यात्रुहरूले करिब ३० मिनेट पैदल हिँडेर माइखोला पार गरी अर्को गाडी चढेर बिर्तामोडसम्म पुग्न सक्ने अवस्था छ।
सडक सञ्चालनसँगै इलाम–पाँचथर क्षेत्रको यातायात र सामान ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ।