झापा । झापाको दमक नगरपालिका–५, धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ ।
स्थानीयवासीले आइतबार (असोज २६) बिहान बन्दुक फेला परेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएका थिए । त्यसपछि प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, फेला परेको उक्त हतियार गएको भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित रहेको पुष्टि भएको छ ।
उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।