मिलन बोहोरा
भारतको असम प्रान्तको ब्रह्मपुत्र उपत्याकाको मलिलो साहित्य फाँटमा उब्जिएको चतुष्कोणी आकृतिको रम्बास कविताले काव्य विधामा सिर्जना गर्नेहरूको दृष्टि आकर्षण गर्न सफल भएकोछ।भारतको सिक्किम, दार्जिलिङ र असम, नेपाल, म्याँमा र वासिङ्टनमा रहने सयभन्दा बढी कविहरूले यस उपविधामा विगत डेढ वर्षदेखि निरन्तर लेखिरहनुभएकोछ। जन्मदै चिल्ला पात भएको यस कविताले बटवृक्ष हुने सम्भावना बोकेको छ। अभ्यास गर्दै जाँदा उत्कृष्ट खँदिला कविता लेख्नसकिने परिधि यसमा छ। नाति-ह्रस्वदीर्घ स्वरूपको रम्बास कविताले एक विशेष स्वाद खोज्ने पाठकलाई तृप्त पार्नसक्छ। यो नयाँ आयाम हो।
यस कविताबारे निकै लेख लेखिए, छापिए, सकारात्मक र नकारात्मक दुवै प्रकारका टिप्पणी आए। केही उपलब्धि भएकोले समालोचना भएको रहेछ भन्ने बुझियो। यो हाम्रो (रम्बास कविताप्रेमी) लागि साह्रै उत्साहजनक प्रगति हो। इ-पत्रिका साहित्यपोष्टका सम्पादक दिपक सुवेदीज्यूले यस उपविधाको सैद्धान्तिक अवधारणा तैयारगर्न समेत सहायता गर्ने वचन दिनु हाम्रो लागि प्रेरणादायी ऊर्जा हो।
रम्बास कविता र कविता विधाका अरू कवितामा भावनात्मक रूपले केही फरक छैन। न यो ठोस कविता हो न चित्र कविता। यी दुबैको परिभाषादेखि टाढा छ रम्बास कविता। यो नयाँ उपविधा हो, प्रयोगवादको फसल हो।
पहिले जसले पनि चित्र कविता लेखे त्यसमा कुनै सैद्धान्तिक अवधारणा पाइदैन। केवल अक्षरले कुनै वस्तुको आकृति दिनुमात्र थियो। त्यसदेखि बाहेक अरू केही नियम थिएनन्। विषयवस्तुसँग सम्बन्धित पक्षलाई चित्र आकारमा कविता लेख्नु र केवल चतुष्कोणी रम्बास आकृतिमा सय अक्षर र उन्नाइस पङ्क्तिमा जीवन र जगतका समस्त विषयमा कविता लेख्नुमा निश्चयै आकाश पातालको फरक छ। एक निर्दिष्ट नियममा रहेर काव्यसाधना गर्नु पुर्वेली साहित्यको परम्परा हो। रम्बास कविता पनि त्यही परम्पराको निरन्तरता हो। यदि हाम्रा अग्रजहरूले नियमानुसार रचेका छोटा श्लोक, छन्दकविता, मुक्तक, हाइकु आदि अनेकौँ कविताहरू स्थापित उपविधा हुनभने रम्बास कविता पनि समतुल्य धारणाको हो।
यो ठोस वा चित्र कविता नभएर बान्की परेको एक नयाँ आयामेली कविताचित्र हो भनेर किटान गरेर भन्ने असम, डिगबै कलेजका नेपाली विभागका प्रवक्ता देवीचरण सेडाइँ हुन।वहाँले यसको बारेमा विस्तृत अध्ययन गरेर यस निणर्यमा नपुगेका भए आज हामी सबै यसलाई ठोस वा चित्र कविता नै भनिराख्ने थियौँ। तसर्थ रम्बास कविताको इतिहासमा वहाँ स्मरणीय रहनेछन्। परिवर्तनको चिरप्रवाहमा सबैथोकको रूप, आकृति, धारणा आदिमा प्रभावपर्छ। युगको माँग र उपकरणको सुलभ्यताले रम्बासजस्ता कविता निस्कनु अस्वाभाविक होइन। रम्बास कविता त केवल अभिनव प्रयोग र काव्यिक अनुभूतिको सम्मिश्रणले
सृष्टि भएको आयामेली कविता हो।
कसैले आफ्नो वर्चस्वताको अभिमानमा या अर्थोकै अन्तर्निहित कारणले यस उपविधालाई टेढा नजरले हेरेपनि हामीले भन्नुपर्ने केही छैन। यसले कम्ती नै सही, अहिलेसम्म अन्तर्राष्ट्रियस्तरमा उपस्थिति दर्जा गराइसकेको छ। सयभन्दा बढी कविले प्रयास गरिरहेकाछन्। त्यस अर्थमा शैशव कालको टिठ् लाग्दो बामेसर्ने नानी हो यो। यसले पनि हिँड्ने, खेल्ने, वंश वृद्धिगर्ने रहर पालेको छ। साहित्यको रूखमा नयाँ पालुवा पलाउँछन् नै, फूल फुल्छ नै। यसलाई संवर्द्धन गर्न असमका जागुननिवासी साहित्यानुरागी खडानन्द दुलाल शर्मा र पुरुषोत्तम दाहाल उपाध्यायले अन्तर्राष्ट्रिय उपस्थिति भएका रम्बास कविता लेख्ने कविहरूका कविताको एक संकलन निकाल्ने जमर्को लिनुभएकोछ। हामी रम्बास कविहरू वहाँ दुवैप्रति चिरऋणी रहनेछौँ।
जसलाई राम्रो लाग्छ आनन्द लिन्छ, जसलाई लाग्दैन त्यता नहेरी गइदिए भइगयो। सकारात्मक समालोचना होस्, थप सुझाव आओस्। त्यसरीमात्रै साहित्यको सरिता सललल बग्छ, ढनाढ्य हुन्छ साहित्य-भण्डार। त्यसको विपरीत गर्नुचाहिँ सरासर आत्मघाती काम हो।
असाम, भारत