झापा । विर्तामोड हुँदै इलामको माई नगरपालिका जोड्ने प्रमुख मार्गअन्तर्गत अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल आज बाढीले बगाएको छ। पुल बगेसँगै शनिश्चरे–खुदुनाबारी आवतजावत गर्ने सो सडक पूर्णरूपमा अवरुद्ध भएको हो।
दुई वर्षअघि सो पुल भाँसिएको थियो। त्यसबेला सडक अवरुद्ध भएपछि दक्षिणतर्फको वैकल्पिक मार्ग — अर्जुनधाराधाम हुँदै जाने सडकमा रहेको अर्को बिरिङ पुल प्रयोग हुँदै आएको थियो।
वि.सं. २०६५ मा भारत सरकारको रु दुई करोड सहयोगमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै सो मार्गमा लामो दूरीका सवारीसाधन पनि चल्न थालेका थिए। पुल बगाएपछि स्थानीय बासिन्दा र यात्रीहरू वैकल्पिक बाटो खोज्न बाध्य भएका छन्।