पाँचथर । साउन २७ गते रातिदेखि परेको अविरल वर्षाले पाँचथरका प्रमुख सडकहरूमा आवागमन ठप्प भएको छ। मेचि राजमार्गको फिदिम नगरपालिका–४ र हिलिहाँङ गाउँपालिका–७ को संगमस्थल हेवा खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले क्षति पु¥याउँदै माटो र ढुङ्गा बगाएको छ। फिदिमतर्फको सडक भाग समेत भत्किएकाले राजमार्ग पूर्ण रूपमा बन्द छ।
फिदिम–फलोटे सडकखण्डको फेमे खोलाको डाइभर्सन पनि बग्दा फिदिम–११, १२, १३ र फालेलुङ गाउँपालिकाका सबै वडा सदरमुकामसँगको सम्पर्क विच्छेद भएको छ। हाल सडक खुलाउने काम भइरहेको र केही समयपछि सञ्चालनमा आउने स्थानीय प्रशासनले जनाएको छ।
यसैगरी, तमोर कोरिडोर अन्तर्गत नावाखोलामा आएको बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। प्रहरी प्रमुख कौशलकुमार बुढाथोकीका अनुसार, क्षति भएको ठाउँमा डोजर र जनशक्ति परिचालन गरिएको छ।