पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ मा २०७९ सालमा तामझामका साथ सुरू गरिएको ‘जोरसाल हटिया’ योजना उद्घाटनको चमकसँगै हरायो। उद्घाटनमा मञ्च सजाउने, रिबन काट्ने र फोटो खिचाउने जनप्रतिनिधिहरू तीन वर्षयता हटियाको नामसम्म लिन तयार छैनन्।
ऐतिहासिक जोरसाल हटियालाई पुनर्जीवित गर्ने ठूलो हल्ला गरिए पनि न त दीर्घकालीन योजना बनाइयो, न त निरन्तरता दिने पहल। उद्घाटनपछि किसान र व्यापारीको सहभागिता घट्दै जाँदा हटिया सुनसान बन्दै गयो। औसी र पूर्णिमाका दिनमा स्थानीय उत्पादन बिक्री गर्ने अवसर प्रदान गर्ने लक्ष्यसहित भव्य समारोहमार्फत उद्घाटन गरिएको हटिया शुरुमै उत्साहपूर्ण रह्यो, तर समयक्रमसँगै किसान र व्यापारीहरूको सहभागिता घट्दै हटिया सुनसान बन्न पुग्यो।
देउराली युवा क्लबका अध्यक्ष शिव राज श्रेष्ठका अनुसार हटिया मेलाको व्यवस्थापन खर्च ८५ हजार रुपैयाँ थियो, जसमा फिदिम नगरपालिका वडा नम्बर ४ बाट ४० हजार रुपैयाँ सहयोग आएको थियो। “जनप्रतिनिधि उद्घाटनमा मात्र देखिन्छन्, त्यसपछि चासो शून्य हुन्छ,” उनले टिप्पणी गरे।
स्थानीयहरु भन्छन् योजना, बिना तयारी र बिना रणनीति सुरू गरिएको थियो। उद्घाटनका बेला गरिएका मिठा भाषण र वाचा कागजमै सीमित भए। परिणामस्वरूप हटिया नामको एउटा ऐतिहासिक पहिचान फेरि मर्ने अवस्थामा पुगेको छ।
नगरपालिकाले कृषि तथा पशु उत्पादन बिक्रीलाई प्राथमिकता दिने भनिए पनि व्यवहारमा देखिने अवस्था फरक छ। उद्घाटनको दिनको भीडभाड र रौनक आज केवल तस्वीरमा मात्र बाँकी छ।