ताप्लेजुङ । ललितपुरको चर्च ब्वाइज क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आजको सेमिफाइनलमा चर्च ब्वाइजले सुनसरीको द योङ ब्रदर्श क्लबलाई ट्राइबेकरमा ३–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
खेलको निर्धारित समय १–१ गोलमा सकिएपछि टाइबेकरमा पुगेको खेलमा चर्चले रोमाञ्चक पुनरागमन प्रदर्शन गर्यो। चर्चका लागि ट्राइबेकरमा सुमन श्रेष्ठ, रोशन पहारी र युवराज ढकालले गोल गरे। नवयुग श्रेष्ठको प्रहार भने बाहिरियो।
चर्च व्याइजले ७७ औँ मिनेटमा गरेकाे सुसाइ गोलले सुनसरीकाे टोलीलाई अग्रता दिएको थियो। तर खेलको अतिरिक्त ५ मिनेटमा सुमन श्रेष्ठले निर्णायक गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काए।
द योङ ब्रदर्श क्लब अन्तिममा सम्हालिन नसक्दा पराजित भयो। ट्राइबेकरमा मात्र निरज खड्काले गोल गर्न सफल भए। विशाल तामाङ र निवाश फुयलका प्रहार चर्चका गोलरक्षक विवब चौधरीले रोके। युगन राईको प्रहार पोस्टमा ठोक्किएर फर्कियो।
लगातार वर्षा भइरहे पनि दर्शकहरूले छाता ओढेर रोमाञ्चक खेलको मजा लिएका थिए। गत साउन २४ गते सुरु भएको प्रतियोगितामा सुनसरीले उद्घाटन खेलमै आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो। चर्च ब्वाइजले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुढीलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।
भोलि हुने दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेस युवा क्लब आमनेसामने हुनेछन्। सिराहाले हिजो क्वाटरफाइनलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० ले पराजित गरेको थियो।
फाइनल खेल साउन ३१ गते हुनेछ। विजेताले सात लाख दुई हजार बयासी रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले तीन लाख पचास हजार बयासी रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने विभिन्न विधाका उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाउनेछन्।