सप्तरी — सप्तरीको राजविराज बजारमा शुक्रबार बिहान पत्रकार सौरभ यादवमाथि एक समूहले चक्कु प्रहार गरेका छन्। अस्पतालको दक्षिणी गेटअगाडि उभिएका बेला मोटरसाइकलमा आएका तीनमध्ये दुई जनाले चक्कु, हेलमेट र पेटी प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। पत्रकार प्रवेशकुमार मिश्रका अनुसार प्रत्यक्षदर्शीले लखेटेपछि आक्रमणकारी मोटरसाइकलमै फरार भएका थिए।
हात, टाउको र शरीरमा चोट लागेका यादवको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको छ। यादव ‘नयाँ पत्रिका’ दैनिकका सप्तरी संवाददाता हुन्।
पीडित यादवका अनुसार घटनामा क्याप्टेन भनिने कृष्णनाथ यादव (छिन्नमस्ता गाउँपालिका–१ वीरपुर), राजु यादव (राजविराज नगरपालिका–११) र राजबाबु झा (विष्णुपुर गाउँपालिका–७) संलग्न छन्। उनका अनुसार समाचार लेखेको विषयलाई लिएर उनीमाथि आक्रमण भएको हो।
सप्तरीका प्रहरी प्रमुख एसपी गौतमकुमार केसीले आक्रमणकारीको पहिचान भइसकेको र पक्राउका लागि खोजी कार्य तीव्र पारिएको जानकारी दिए। ‘उनीहरुलाई नियन्त्रणमा लिन टोली खटाइसकेका छौं,’ उनले भने।
घटनापछि नेपाल पत्रकार महासंघ सप्तरी र प्रेस मञ्च सप्तरीले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको माग गरेका छन्। विज्ञप्तिमा यस घटनाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र कानुनी शासनमाथि गम्भीर आघात पुर्याएको भन्दै तीव्र निन्दा गरिएको छ।