काठमाडौं। अब कुनै चमत्कार भएमात्र अमेरिकी सहयोगसम्बन्धी एमसीसी प्रतिनिधि सभाबाट पारित हुनेछ । एमसीसी पारित गर्न पक्षमा रहेको नेपाली काँग्रेसभित्रै आशंकाहरु देखिन थालेको छ । अर्कोतर्फ, एमसीसीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा ठूलै त्याग गर्न तयार छैनन् ।
नेकपा एमाले एमसीसीबारे अनिर्णित छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको पक्षमा जान प्रधानमन्त्री पद नै मागेको खुलिसकेको छ । त्यसमा देउवा तयार भएनन् । ५ फागुनको साँझ राजनीतिक लेनदेनको कुरा मिल्न लागिसकेको थियो तर देउवा प्रधानमन्त्री छाड्न तयार भएनन् ।अब एमसीसी पारित हुन देउवासँग आवश्यक मत छैन । काँग्रेसको ६१, जसपाको १८ र लोसपाको १३ मत हुँदा पनि ९२ मत हुन्छ । त्यो प्रतिनिधि सभाको बहुमत होइन ।
उपस्थित संख्याको बहुमत बनाउन ९२ मत आउँदा पनि माओवादी र नेकपा एसले बैठकमा अनुपस्थित जनाउँदा एमाले उपस्थित भएमा पुग्दैन । यसकारण एमसीसी पारित नहुने देखिएको छ । बरु एमसीसीकै विरोधमार्फत् कम्युनिस्ट शक्तिहरुले एकताको बिन्दु तयार गर्न थालेका छन् । उनीहरु गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका छन् ।