ताप्लेजुङ । शनिबार मिक्वाखोला गाउँपालिका–४ साँवाबाट मेरिङदेन हुँदै धरानका लागि छुटेको मे१ज ३०५५० नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट झन्डै तीन सय मिटर तल खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएका छन् ।
तमोर करिडोर सडक खण्डअन्तर्गत पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा भएको उक्त दुर्घटनामा परी मेरिङदेन–२ सान्थाक्राका विनोद लङ्वा, ४ लिङतेपकी गीता हाङगाम, ५ थुकिमाका अभिषेक लिम्बू, धनकुमार लिम्बू, मेरिङदेन–५ की युना तामाङ र मिक्वाखोला–४ साँवाकी मनीषा कार्कीको मृत्यु भएको छ ।
सन्जुहाङसहित मेरिङदेन–५ थुकिमाका जिप चालक महेश केदेम लिम्बू, विमल लिम्बू, मिक्वाखोला–४ साँवाका मनु साँवा, मेरिङदेन–५ मावली भएका कालीखोलाका अनिश लिम्बू र फुङलिङ नगरपालिका–३ जन्मस्थल भई इटहरी–७ सुनसरीमा बस्दै आएका महेश गुरागाईं घाइते भएका छन् । घाइते सबैको धरानस्थित घोपा क्याम्पमा उपचार भइरहेको छ । उनीहरूलाई प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले उद्धार गरेको थियो ।
मिक्वाखोला गाउँपालिका–४ साँवाका ३१ वर्षीय सन्जुहाङ चोङवाङ साँवा पाँच वर्ष कोरिया बसेर गत असार तेस्रो साता मात्र जन्मथलो आएका थिए । काम छ भनेर लगत्तै काठमाडौं गएका उनले भदौ पहिलो साता घर फर्कंदा उर्लाबारी–२ सुनझोडा मोरङबाट मनीषा कार्कीलाई लिएर आएका थिए । साइत हेराएर मुन्धुम संस्कृतिअनुसार ७ असोजमा सामाजिक परम्पराअनुसार धुमधामले विवाह भएको थियो ।
मनीषाले माइतीबाट पनि विवाह गरिदिन राजी भएको बताएपछि शनिबार बिहानै उनीहरू उर्लाबारीका लागि गाडी चढेका थिए । १९ असोजमा विवाह गरिदिने तयारीस्वरूप माइती पक्षले विवाहको निमन्त्रणा कार्ड नै छपाएको थियो । तर विवाहमा बेहुली बनेर मनीषा पुग्नै पाइनन् । शनिबार बिहान ३ बजे गाडी चढेका उनीहरू सवार बोलेरो जिप कार्तिकेमा दुर्घटनामा परेका हुन् ।
मनीषाको घटनास्थलमै मृत्यु भयो भने घाइते सन्जुहाङलाई पाँचथर अस्पतालमा उपचारार्थ भर्ना गरियो । परिवारले उनलाई शनिबार बेलुका थप उपचारका लागि धरानस्थित घोपा क्याम्प पुर्याएका छन् । ७ असोजमा जोडिएको उनीहरूको लगनगाँठो १८ असोजमा पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा टुट्यो । उक्त जिप दुर्घटनामा घाइते भएका ६ जनामध्ये ५ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएकामा २ जनाको अवस्था अझै गम्भीर रहेको धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिएका छन् ।
डीएसपी राईका अनुसार ताप्लेजुङको मिरिङदेन गाउँपालिका–५ थुकिमाका जिप चालक २२ वर्षीय महेश लिम्बू र मिरिङदेनकै २५ वर्षीया विमल लिम्बूको अवस्था गम्भीर रहेको उनले बताए । उनीहरूलाई आईसीयूमा भर्ना गरिएको डीएसपी राईले बताए । विमलको टाउको र अनुहारमा चोट लागेका कारण अवस्था गम्भीर रहेको जनाइएको छ भने महेशको दायाँ आँखा, टाउको, निधारमा चोट लागेको उनले बताए ।
त्यस्तै मिक्वाखोला गाउँपालिका–४ साँवाका २५ वर्षीया मनु साँवाको दायाँ आँखामाथि, अनुहार, निधार, छाती र खुट्टामा चोट लागेको छ । उनी इमर्जेन्सी वार्डमा उपचाररत छिन् । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–७ का ३५ वर्षीय महेश गुरागाईंलाई भने सर्जरी वार्डमा सारिएको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ । उनी अलिअलि बोल्न सक्ने अवस्थामा छन् । घाइते गुरागाईंका अनुसार उनको छातीको दुई वटा करङ भाँचिएको र टाउकामा चोट लागेको छ ।
त्यस्तै मिक्वाखोला गाउँपालिकाको साँवा कालीखोलाका ७ वर्षीय बालक अनिश लिम्बूलाई भने विराटनगरको न्युरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । उनको दायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये महेश गुरागाईं मात्र बोल्न सक्ने अवस्थामा छन् । दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये एक जनाको जिल्ला अस्पताल पाँचथरमा उपचारपछि झापा ल्याइएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका बस्ने ३० वर्षीय सन्जुहाङ लिम्बू रहेका छन् । उनको टाउको, शरीरका विभिन्न भाग र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।