झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ।
आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा एफसीबीच उपाधि नजिक पुर्याउने लक्ष्यका साथ प्रतिस्पर्धा हुनेछ।
यसअघि नेपाल पुलिस क्लबले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई ८–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो। उता, संकटा एफसीले घरेलु झापा एफसीलाई ६–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
संकटाले यसअघि विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई समेत पराजित गरिसकेको छ। साथै टोलीमा अहिले ५–६ जना यू–२० राष्ट्रिय खेलाडीहरू र भुटानकी एक राष्ट्रिय खेलाडी समेत रहेका छन्। यी उदीयमान र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीहरूको उपस्थितिले संकटा टोलीलाई थप बलियो बनाएको छ।
तर नेपाल पुलिस क्लब पनि बलियो दाबेदारका रूपमा मैदानमा उत्रिँदैछ। पुलिस टोलीमा राष्ट्रिय खेलाडी रेखा पौडेल, उषा नाथ, मीना देउवा र पूजा राना लगायतका अनुभवी खेलाडीहरू छन्। यी खेलाडीहरूको अनुभवले टोलीलाई संकटाविरुद्ध जित निकाल्ने आत्मविश्वास दिएको छ।
आजको खेलको विजेता टोलीले फाइनलमा विभागीय टोली एपीएफ वा त्रिभुवन आर्मी क्लबमध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
दर्शकका लागि टिकट दर सामान्यतर्फ २०० र ३०० रुपैयाँ तथा भिआइपीतर्फ १,००० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ, र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन्। हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिँदै आएको छ।




