पाँचथर । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा राजनीतिक हलचल तीव्र बन्दै गएको छ। पुस २६ देखि २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन हुने निर्णयसँगै पुस १५ देखि २४ सम्म जिल्लाभित्र विभिन्न तहका अधिवेशन गर्ने तालिका सार्वजनिक भएपछि स्थानीय राजनीतिक वातावरण झनै तातिएको छ। अधिवेशनकै बहानामा काठमाडौंलगायत अन्य शहरमा रहेका नेता–कार्यकर्ता गाउँ फर्कन थालेका छन्, टोल–टोलमा भेटघाट, मत मनाउने, प्यानल मिलाउने र रणनीतिक गठबन्धनको चलखेल खुलेआम देखिन थालेको छ।
जिल्ला उपसभापति डिकेन्द्र कुमार चेम्जोङका अनुसार जिल्लामा क्रियाशील सदस्यता वितरण सकिएर केन्द्रमा बुझाउने प्रक्रिया चलिरहेकाे छ । एक नेता भन्छन “सकेसम्म सर्वसम्मत नेतृत्व, नभए निष्पक्ष प्रतिस्पर्धा” नीतिअनुसार अधिवेशनको तयारी अघि बढेको बताए। गाउँ–नगरपालिकामा सर्वसम्मति बनाउने छलफल सुरु भए पनि पृष्ठभूमिमा चलिरहेको प्रतिस्पर्धाले सहमतिको बाटो सहज नदेखिने संकेत पनि बलियो बन्दैछ।
सबैभन्दा बढी चासो जिल्ला नेतृत्वमा केन्द्रित छ। सभापतिमा वर्तमान सभापति रुपनारायण जबेगु र उपसभापति बृजहाङ आङदेम्बेबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ। दुवै नेताले आफ्नो–आफ्नो प्यानल मजबुत बनाउने प्रयास थालेको बुझिन्छ। उपसभापतिमा बालकृष्ण ओझा, होम थापा, मनिचन्द्र चेम्जोङ, भगिश्वर योङहाङ, मैया श्रेष्ठ लावतीलगायतको आकांक्षा अगाडि आएको छ। स्थानीय नेताहरूको बुझाइमा उपसभापतिमा आकांक्षीको संख्या अझै बढ्न सक्ने देखिन्छ, “उपसभापति नै संगठनभित्रको शक्ति–सन्तुलनको प्रमुख सिँढी भएको” आकलनसहित उपसभापतिमा आकांक्षीको संख्या बढ्ने देखिन्छ ।
सचिव पद पनि त्यत्तिकै चापलाग्दो प्रतिस्पर्धाको केन्द्र रहेको छ। गजेन्द्र राई, सुमन लामा, सन्तोष श्रेष्ठ, केशब नेम्बाङ, डेकेन्द्र तामाङलगायत आकांक्षी देखिएका छन् तर भित्री दौड–धुपको गतिदेखि सूची अझै लम्बिन सक्ने अनुमान गरिएको छ। सहसचिवतर्फ अहिलेसम्म स्पष्ट आकांक्षी नदेखिए पनि अन्तिम क्षणसम्म नाम थपिन सक्ने सम्भावना नेताहरूले नकारेका छैनन्।
क्षेत्रीय सभापतिमा पनि दोहोरो–तेहोरो प्रतिस्पर्धा छ। प्रदेश १ तर्फ धनकुमार लावती, सन्तोष मोक्तान, गणेश पोखरेल, भरत खपाङ्गी र प्रदेश २ तर्फ सामाजिक सञ्जालमै आकांक्षा संकेत गरिसकेका भरत तुम्बापोलगायतका नाम चर्चा भइरहेका छन्। धनसिं नेम्बाङको सम्भावित उम्मेदवारीले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
यसैबीच, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छनोटमा समेत कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। संगठनभित्रको शक्ति–समीकरण, भविष्यको नेतृत्व सन्तुलन र केन्द्रीय तहमा पहुँच कायम राख्ने लक्ष्यले गर्दा दुवै पदका आकांक्षीको संख्या बढिरहेको छ। स्थान–स्थानमा महाधिवेशन प्रतिनिधि बन्ने इच्छुकको लामो सूची बनिरहेको छ, कतिपय ठाउँमा सहमतिको प्रयास असफल हुँदै प्रतिस्पर्धा अपरिहार्य बन्ने संकेत देखिएको छ।
स्थानीय विश्लेषकहरू भन्छन्, “यो चुनाव व्यक्तिको मात्र होइन, प्यानल र समीकरणको लडाइँ हो।” दुवै मुख्य ध्रुवले प्यानल निर्माणमा जोड दिइरहेका छन्। समर्थनका लागि निरन्तर भेटघाट, भित्री वार्ता र मतदाताको मनोविज्ञान बुझ्ने प्रयासले अधिवेशनलाई उत्सवजस्तै बनाएको छ। सामाजिक सञ्जालमा उम्मेदवारी संकेत गर्ने, प्रचार सामाग्री तयार गर्ने र समर्थन अभिव्यक्तिले चुनावी वातावरण झनै तातिएको छ।
चिसो मौसमसँगै पाँचथरको राजनैतिक तापक्रम बढ्दै गएको छ। चिया–पसल, चौतारी, सडक छेउका होटलदेखि सामाजिक सञ्जालसम्म एउटै बहस—अधिवेशन, चुनाव, नेतृत्व र प्यानल। कांग्रेसका कार्यकर्ताहरू भन्छन्, “यो नेतृत्व चयन मात्र होइन, कांग्रेसको भोलि र पाँचथरको भविष्य लेख्ने घडी हो।”
महाधिवेशन नजिकिँदै जाँदा पाँचथर कांग्रेसको भित्री समीकरण दिनहुँ फेरिइरहेको छ। सहमतिका प्रयास, तर प्रतिस्पर्धाको वाध्यता; प्यानलको निर्माण, तर भित्री असन्तुष्टि; उत्साह, तर अनिश्चितता—यिनै मिश्रित भावनाबीच अहिले पाँचथर कांग्रेस उभिइरहेको छ।
अब पर्खाइ एउटै छ। कसको हातमा जाला पाँचथर कांग्रेसको नेतृत्व? कुन प्यानलले बनाउला नयाँ शक्ति–केन्द्र?
महाधिवेशनको निर्णायक घण्टी बज्न अब धेरै ढिला छैन।




