पाँचथर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पाँचथरमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’लाई प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नेम्वाङलाई टिकट दिएका हुन् ।
प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते हुँदैछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते मनोनयन दर्ता हुनेछ । पाँचथर एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र हो ।
नेम्वाङ तत्कालीन नेकपा माओवादी केन्द्रका कोशी प्रदेशका निवर्तमान अध्यक्ष हुन् । उनी पार्टीका पुराना कार्यकर्ता तथा सशस्त्र द्वन्द्वकालमा घाइते भएकामध्ये एक हुन् । लामो राजनीतिक जीवनमा अहिलेसम्म कुनै पनि लाभका पदमा नपुगेका भए पनि, उनी इमानदार र सालिन नेताका रूपमा जिल्लामा परिचित छन् ।
पाँचथरमा नेम्वाङको राजनीतिक यात्रा पुराना कार्यकर्ता, युद्धकालीन अनुभव र जनतासँगको सम्बन्धले बलियो बनाएको छ । उनका कार्यशैली र प्रतिबद्धताले पार्टी संगठनलाई एकजुट राख्न महत्वपूर्ण योगदान दिएको नेताहरू बताउँछन् ।
नेम्वाङको उम्मेदवारीसँगै पाँचथरमा नेकपा कार्यकर्ताहरू निर्वाचन तयारीमा जुटेका छन् । जनतासँग प्रत्यक्ष संवाद बढाउँदै मतदाता सक्रियता अभिवृद्धि गर्ने योजना बनाइएको पार्टीको दाबी छ ।




