इलाम : इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट अब इलाम–काठमाडौं नियमित उडान–अवतरण गरिने भएको छ। आउँदो फागुन ८ देखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको हो। इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिकलगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो। नगरपालिकाले तारा एयर प्रालिसँग उडानका लागि सम्झौता गरेको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मेयर महेश बस्नेतले जानकारी दिए।
तारा एयरको १६ यात्रु क्षमताको जहाज यहाँबाट चल्नेछ। इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ। सम्झौताअनुसार यात्रु भएकामा बाहेक ११/११ जनाको आते–जाते भाडा इलाम नगरले नै तिर्नेछ। इसेवा वा विमानस्थलकै काउन्टरमा टिकट काट्न सकिने भएपनि तारा एयरले यात्रुलाई भाडामा छुट चाहिँ दिने छैन।
तर मेयर बस्नेतले ८ हजार ७ सय रुपैयाँमा टिकट काटिएपछि आते–जाते दुवैतर्फी टिकट यात्रुले पाउने बताए । बस्नेतले विमानस्थल कम्तीमा ३ महिना नियमित सञ्चालन गर्नेगरी सम्झौता भएको बताए।
सम्झौताअनुसार यो अवधिमा इन्धनको मूल्य फरक परेमा त्यहीअनुसार भाडा समायोजन हुनेछ। गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो। वैशाखसम्ममा जहाज उडाउनेगरी तयार भएको विमानस्थल सञ्चालन हुन सकेको थिएन। विमानस्थलमा उडान–अवतरण सुरु गर्नेबेला कोरोनाको महामारी रहेकाले एक वर्षपछि सुरु हुन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पनि उडान–अवतरणका लागि विमानस्थल तयार छ। प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले धावनमार्ग कालोपत्रे, मार्किङ, प्रिन्टिङलगायत सबै काम पूरा भएको बताए। ‘अब विमानस्थलमा विन्ड सक (हावाको गति नाप्ने संकेत) राख्नमात्र बाँकी छ,’ उनले भने, ‘टर्मिनल भवन बन्न बाँकी रहेपनि उडान–अवतरण गर्न बाधा छैन ।’ विमानस्थलछेउमा अस्थायी टर्मिनल भवन चाहिँ निर्माण भइसकेको छ।
विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भएको छ। विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ।
२०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो।
यहाँ विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्। ३ सय २८ रोपनीमा निर्माणाधीन विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएपनि २०६७ चैत १३ मा शिलान्यास गरिएको थियो। साभार नयाँ बुलन्दबाट