पाँचथर । घरेलु टोली फिदिम नगरपालिकालाई ३–१ गोलले पराजित गर्दै हिलिहाङ गाउँपालिका फिदिममा जारी ८औं तरुण गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को फाइनलमा प्रवेश गरेको छ। बुधवार फिदिम माविको खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा हिलिहाङले सुरुवातदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै घरेलु टोलीलाई पछि पारेको हो।
खेलको पहिलो हाफमा हिलिहाङका हिटेन सुहाङले शानदार बाइसाइक गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनको कलात्मक गोलले मैदानमा रहेका दर्शकहरूलाई उत्साहित बनायो। अग्रता गुम्ने अवस्थामा पुगेपछि फिदिमका मनिस क्षेत्रीले उत्कृष्ट फ्रिकिक गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
बराबरीपछि खेल झन् प्रतिस्पर्धात्मक बन्यो। दुवै टोलीले आक्रमणमा जोड दिए, तर हिलिहाङको डिफेन्स र मिडफिल्ड संयोजन सशक्त रह्यो। दोस्रो हाफमा हिलिहाङले खेलमा पुनः नियन्त्रण कायम गर्दै निर्णायक आक्रमणहरू निर्माण गर्यो।
नवराज माझीले लगातार दुई गोल गर्दै हिलिहाङलाई फाइनलमा पुर्याए। पहिलो गोल उनले नजिकको दूरीबाट थ्राेइन गरे भने दोस्रो गोल सटीक फिनिशिङमा परिणत भयो। उनले देखाएको लय र तालमेलले टोलीलाई जितको ढोका खोलेको थियो।
घरेलु दर्शकहरूको साथ पाएको फिदिमले खेलमा केही सुनौला अवसर सिर्जना गरे पनि गोल गर्न सफल हुन सकेन। हिलिहाङको अनुशासित खेल, तीव्र पासिङ र सशक्त फिनिशिङ नै जितको मुख्य आधार बन्यो।
उत्कृष्ट प्रदर्शनका लागि हिटेन सुहाङलाई ‘प्लेयर अफ दि म्याच’ घोषित गरियो। उनकाे गोल र खेलभरिको प्रदर्शनले टोलीको आत्मबल बढाएको थियो।
स्मरण रहोस्, प्रतियोगिताको विजेताले १लाख रुपैयाँ सहितको ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
अब हिलिहाङ गाउँपालिकाले फाइनलमा भोलि १२ बजे कुम्मायक गाउँपालिकासँग उपाधिका लागि भिड्नेछ। फाइनलमा दुवै टोली उत्कृष्ट लयमा रहेकाले रोमाञ्चक खेलको अपेक्षा गरिएको छ।




