पाँचथर । पाँचथरको फिदिम माविको खेलमैदान आज बिहिबार फुटबलको रौनकले गुञ्जिनेछ। जारी ८औं तरुण गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को फाइनलमा दुई गाउँपालिका, हिलिहाङ र कुम्मायक, उपाधिका लागि आमनेसामने हुँदै छन्। आजको भिडन्तले केवल ट्रफीको निर्णय गर्ने छैन , यो पाँचथरको फुटबल स्वाभिमान र स्थानीय गौरवको प्रतीक बन्नेछ।
हिलिहाङले सेमिफाइनलमा घरेलु टोली फिदिमलाई ३–१ ले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको हो। हिटेन सुहाङको शानदार बाइसाइक गोल र नवराज माझीका दुई निर्णायक गोलले टोलीलाई फाइनलमा पुर्याएको थियो। अर्कोतर्फ, कुम्मायकले फाल्गुनन्द गाउँपालिकालाई हराउँदै फाइनल यात्रा सुनिश्चित गरेको हो। दिल सम्हाम्फेले सुशिल लावतीका दुई सुन्दर पासमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए।
तर आजको खेल हिलिहाङका लागि सजिलो छैन। टोलीका नियमित कप्तान प्रकाश घमला घाइते भएका कारण उनी मैदानमा नदेखिन सक्छन् । उनको अनुपस्थितिले टोलीको डिफेन्स लाइनमा कमजोरी ल्याउन सक्छ। अब हिटेन सुहाङ, नवराज माझी र निरोज लिङदेनले पछाडिबाट टोलीलाई सन्तुलनमा राख्दै जिम्मेवारी पूरा गर्नुपर्नेछ।
अर्कोतर्फ, कुम्मायक अहिले उत्साह र आत्मबलमा छ। दिल सम्हाम्फे र सुशिल लावतीको जोडीले प्रतिद्वन्द्वीको रक्षा पंक्ति तोड्न सक्ने क्षमताको प्रदर्शन गरिसकेको छ। आजको फाइनलमा हिटेन सुहाङ विरुद्ध दिल सम्हाम्फे ,यो नै खेलको मुख्य द्वन्द्व बन्नेछ, जसले उपाधिको दिशा तय गर्नेछ।
दुवै टोलीका खेलाडीहरूका लागि आजको भिडन्त अवसर मात्र होइन, आफ्नो गाउँको नाम उच्च राख्ने जिम्मेवारी पनि हो। हिलिहाङको अनुशासित खेल र तीव्र काउन्टर अट्याक बलियो पक्ष हो भने, कुम्मायकको बलमा नियन्त्रण र पासिङ संयोजन प्रभावशाली देखिएको छ।
स्मरण रहोस् विजेताले १ लाख रुपैयाँ सहितको ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ।तर पुरस्कारभन्दा ठूलो कुरा भने, यो गोल्डकपले पाँचथरका गाउँपालिका र नगरपालिकाहरूमा फुटबलप्रतिको आकर्षण बढाउँदै स्थानीय प्रतिभा पहिचान गर्ने माध्यम बनेको छ। आयोजक नेपाल तरुण दल, जिल्ला कार्यसमिति पाँचथरका अध्यक्ष सुमन लामाले भने,
“यो गोल्डकपले जिल्लाभरका युवामा फुटबलप्रतिको रुचि बढाएको छ। हामीले खेलकुदको माध्यमबाट युवालाई सकारात्मक दिशातर्फ डोर्याउने प्रयास गरेका छौं,” उनले बताए।
आजको भिडन्तले पाँचथरको फुटबल इतिहासमा अर्को अध्याय लेख्ने निश्चित छ। अब सबैको नजर फिदिम माविको मैदानमा छ ,
ट्रफी कसको हातमा उठ्ने ? हिलिहाङको कि कुम्मायकको ?




