पाँचथर । फिदिममा जारी आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार सम्पन्न दुवै खेलमा हिलिहाङ गाउँपालिका र घरेलु टोली फिदिम नगरपालिका विजयी भएका छन्।
पहिलो खेलमा हिलिहाङ गाउँपालिकाले साविक विजेता तुम्बेवा गाउँपालिकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। खेलको सुरुवातदेखि नै बलमा नियन्त्रण जमाएको हिलिहाङले तीव्र आक्रमणका साथ अग्रता लिएको थियो। पहिलो हाफमै दुई गोल गर्दै हिलिहाङले खेलमा दबदबा कायम गर्यो।
हिटेन सुहाङ र नवराज माझीले समान दुई–दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे भने निरोज लिङदेनले एक गोल थपेका थिए। तुम्बेवा गाउँपालिका साविकका विजेता भए पनि खेलमा बल नियन्त्रण गर्न संघर्षरत देखियो। रक्षात्मक त्रुटि र मिडफिल्डको कमजोर संयोजनका कारण उनीहरू अवसर उपयोग गर्न असफल भए। उत्कृष्ट प्रदर्शनका लागि हिलिहाङका निरोज लिङदेनलाई ‘प्लेयर अफ दि म्याच’ घोषित गरिएको थियो।
दोस्रो खेलमा घरेलु टोली फिदिम नगरपालिकाले मिक्लाजुङ गाउँपालिकामाथि पुनरागमन जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको सुरुवातमै मिक्लाजुङका स्वतिक राईले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि फोबिन्द्र राईले गोल गर्दै अन्तर घटाउने प्रयास गरे पनि टोली त्यसलाई जोगाउन सकेन।
घरेलु मैदान र दर्शकको उत्साहले प्रेरित फिदिमले खेलको लय आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गर्यो। आयुष राईले दुई गोल गर्दै खेल बराबरीमा ल्याए भने अतित आङ्बो र नवराज गुरुङले समान एक–एक गोल थप्दै फिदिमलाई ४–२ को जित दिलाए।
मिक्लाजुङले केही अवसर सृजना गरे पनि फिनिशिङमा कमजोर रह्यो। उत्कृष्ट प्रदर्शनका लागि फिदिमका मनिष क्षेत्री ‘प्लेयर अफ दि म्याच’ बने।
फिदिम मैदानमा भएको खेलहरूमा दर्शकहरूको बाक्लो उपस्थिति रहँदै आएको छ। प्रतियोगिता नेपाल तरुण दल, जिल्ला कार्य समिति पाँचथरले आफ्नो ७३औं स्थापना दिवसको अवसरमा आयोजना गरेको हो।
आयोजक समितिका अध्यक्ष सुमन लामाका अनुसार खेलकुदको माध्यमबाट युवाहरूमा सकारात्मक सोच, सहकार्य र अनुशासनको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। उनले भने, “हाम्रो उद्देश्य युवालाई खेलकुदमा सक्रिय बनाएर समाजमा सकारात्मक सन्देश फैलाउने हो।”
विजेता टोलीले नगद रु १ लाख १ सय ७३ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ५० हजार १ सय ७३ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछ।
भोलि हुने सेमिफाइनल खेल अन्तर्गत पहिलो खेल दिउँसो १२ बजे फाल्गुनन्द गाउँपालिका र कुम्मायक गाउँपालिकाबीच हुनेछ भने दोस्रो खेल २ बजे फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाबीच हुने आयोजक समितिले जानकारी दिएको छ।




