काठमाडौं ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातका कारण कोशी, मधेस र बागमतीका गरी २६ जिल्ला प्रभावित हुने बताएको छ।
कोशीको संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी प्रभावित हुने देखिएको छ। मधेसका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी प्रभावित हुने देखिएको छ भने बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली प्रभावित हुनेछन्।
त्यसो त मोन्था चक्रवातका कारण कोशी र बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
‘जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण २०८२ कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिन्छ। उक्त प्रणालीको प्रभावबाट मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेस र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ,’ प्राधिकरणले भनेको छ।
उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र कोशी, बागमती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना समेत रहेको महाशाखाले बताएको छ।
सम्भावित वर्षा र हिमपातका कारण आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा समेत प्रभाव पर्न सक्ने पनि महाशाखाले बताएको छ।
उक्त अवधिमा यी कुरा पालना गर्न प्राधिकरणले भनेको छ।
१) अत्यन्त जरूरी नभई सकेसम्म यात्रा नगर्ने।
२) डुबान हुनेसक्ने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरूलाई पनि जानकारी दिने। आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने।
३) प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्ने। जोखिम देखिए सुरक्षित स्थानमा सर्ने।
४) धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने।
५) प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकता अनुसार सवारी आवागमन बारे निर्णय गर्ने। सोको पालना गर्ने, गराउने।
६) तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।
७) पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने।





