दिपक बोहोरा । पाँचथर
लगातारको झरी र हिलाम्मे मैदानबीच सम्पन्न आठौँ तरुण गोल्डकप फुटबल प्रतियोगिता केवल उपाधि प्रतिस्पर्धा मात्र रहेन । यसले पाँचथरमा स्थानीय फुटबल पुनर्जागरणको लहर जगाएको छ। हिलिहाङ गाउँपालिकालाई १–० गोलले पराजित गर्दै कुम्मायक गाउँपालिकाले उपाधि जिते पनि जितभन्दा ठूलो उपलब्धि भने पाँचथरको फुटबलमा देखिएको चेतना, सहभागिता र सम्भावनाको उदय हो।
फिदिम माविको मैदानमा पानी, हिलो र कठिन अवस्थाबीच पनि खेलाडीहरूको जोश घटेन। खेलाडीहरू हिलाम्मे मैदानमा पनि दौडिरहेका थिए, भिडन्त तीव्र थियो, र दर्शकको हुटिङले मैदानलाई उत्सवमय बनाइरहेको थियो। यही जोशले देखायो, फुटबल यहाँ केवल खेल होइन, पहिचान हो।
नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले प्रतियोगिताको सफल सम्पन्नतापछि भने, “तरुण गोल्डकप सफलतापूर्वक सम्पन्न भएको छ। यस्ता प्रतियोगिता जिल्लाको फुटबल विकासका मेरुदण्ड हुन्। स्थानीय सरकारले पनि यस्ता प्रतियोगितामा लगानी गर्नुपर्छ, किनभने यसले नयाँ प्रतिभा खोज्ने र खेलाडीलाई प्रोत्साहित गर्ने काम गर्छ।”
पत्रकार गिरिराज बाँस्कोटाका अनुसार, तरुण गोल्डकपले जिल्लामा फुटबलको नयाँ ऊर्जा भरेको छ। “फुटबल अब पाँचथरमा जनभावनासँग जोडिएको विषय बनिरहेको छ। यस्ता प्रतियोगिताले युवा खेलाडीहरूलाई अवसर दिन्छ र उनीहरूलाई राष्ट्रिय स्तरतर्फ अघि बढ्न प्रेरणा प्रदान गर्छ,” उनले भने।
फुटबल विश्लेषक मंगल बेघाले भने, “यस्ता प्रतियोगिताले खेलाडीको प्राविधिक सीप मात्र होइन, सामूहिकतालाई पनि बलियो बनाउँछ। पाँचथरका खेलाडीहरू अहिले जुन लयमा खेलिरहेका छन्, त्यसले निकट भविष्यमा जिल्लाबाट राष्ट्रिय टोलीमा नाम ल्याउने सम्भावना देखिएको छ।”
तर, यस ऊर्जालाई दीर्घकालीन विकासमा रूपान्तरण गर्न संरचनागत सुधार अपरिहार्य देखिन्छ। पाँचथरमा हालसम्म स्थायी प्रशिक्षण मैदान, नियमित लिग प्रणाली र बालफुटबल विकास कार्यक्रमको अभाव छ। जिल्ला फुटबल संघले अब यस्ता प्रतियोगिताबाट पाएको उत्साहलाई संस्थागत बनाउँदै स्थानीय क्लब, विद्यालय र पालिकासँग सहकार्य गरी स्थायी संरचना निर्माणमा ध्यान दिनुपर्ने बाँस्कोटाको सुझाव छ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा, फुटबलको विकासका लागि स्थानीय स्तरमै ग्रासरुट प्रणाली बलियो बनाइन्छ । चाहे त्यो जापानको स्कूल फुटबल होस् वा जर्मनीको “फुटबाल एकेडेमी प्रणाली।” पाँचथरले पनि त्यसैबाट सिकेर स्थानीय प्रशिक्षण केन्द्र, कोचिङ कार्यक्रम र वार्षिक लिग प्रणाली सञ्चालन गर्न सके, यस्ता गोल्डकपहरू फुटबलको आधार बन्नेछन्, केवल उत्सव होइन।
कुम्मायकको उपाधि जित र हिलिहाङको उत्कृष्ट प्रदर्शन दुवैले पाँचथरको फुटबलमा नयाँ अध्याय लेखेका छन्। हिलो, वर्षा र कठिनाइबीच जन्मिएको यो गोल्डकपले सन्देश दिएको छ । पाँचथर अब फुटबलको नक्सामा बलियोसँग अंकित हुँदैछ।




