पाँचथर । पछिल्लाे २४ घण्टामा पाँचथर सदरमुकाम फिदिममा ६०.१ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन भारी वर्षा श्रेणीमा पर्छ। लगातारको वर्षाका कारण पाँचथरका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। मेची राजमार्ग इलामको राजदुवाली क्षेत्रमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ।
असोज १७ देखि १९ गतेसम्मको वर्षाले ठूलो क्षति पुर्याएपछि मर्मत गरी खुलेको सो सडक फेरि अवरुद्ध भएको इलाम सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले जानकारी दिए। उनका अनुसार बाटो खुलाउने कार्य भइरहेको र केही घण्टाभित्र यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ।
लगातारको वर्षाले तमोर करिडोर अन्तर्गत धनकुटा–पाँचथर सिमानाको नावाखोला क्षेत्रमा पनि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। त्यस्तै, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पाँचथरको याङवरक गाउँपालिकास्थित रिजाल भिरमा पनि सडक अवरुद्ध भएको छ।
फिदिम–फालोट सडक खण्डको फेमेखोला क्षेत्रमा पानीको बहाव बढेकाले सवारीसाधन सञ्चालनमा रोकिएको छ। प्रहरीका अनुसार हालसम्म पाँचथरमा कुनै मानवीय क्षति भएको छैन।
मौसमविद्हरूका अनुसार, १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा भनिन्छ।
त्यस्तै, वर्षा हुने सम्भावनाको क्षेत्रफलका आधारमा पनि वर्गीकरण गरिन्छ। एक–दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। यदि १० देखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने “थोरै ठाउँमा पानी पर्न सक्छ” भनिन्छ।
३० देखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने “केही स्थानमा पानी पर्न सक्छ” भनिन्छ। त्यस्तै, ५० देखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने “धेरै ठाउँमा वर्षा हुन सक्छ” भनिन्छ। यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने “अधिकांश स्थानमा वर्षा हुन सक्छ” भनिन्छ।
शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित




