काठमाडौं ।संसारमै पहिलो पटक बंगुरको मुटु निकालेर मान्छेमा प्रत्यारोपण गरिएको छ।अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरूले आठ घन्टा लगाएर गत शुक्रबार एक पुरूषमा बंगुरको मुटु प्रत्यारोपण गरेका हुन्। ५७ वर्षीय डेभिड बेनेट तीन दिनदेखि प्रत्यारोपण भएको त्यही बंगुरको मुटुको सहायताले सास फेरिरहेका छन्।
मेरिल्यान्डका बेनेट मुटुसम्बन्धी समस्याका कारण हप्तौंदेखि अस्पतालमा थिए। उनको उपचारका लागि चिकित्सकहरूले सबै विधि अपनाएका थिए। बेनेटको स्वास्थ्य यति कमजोर थियो कि उनी मान्छेको मुटु प्रत्यारोपणका लागि अयोग्य ठहरिए।
अमेरिकामा अहिले पनि १ लाख ६ हजारभन्दा बढी मानिसहरू विभिन्न अंग प्रत्यारोपणका लागि कुरिरहेका छन्। अर्गान डोनर डट जिओभीका अनुसार मुटु, कलेजो, किड्नीलगायत अंगहरू नपाएर दैनिक १७ जना मानिसले ज्यान गुमाउछन्।
बेनेटका हकमा भने मान्छेको मुटु प्रत्यारोपण गर्ने विकल्प पनि बाँकी थिएन। तर उनी बाँच्न चाहन्थे। उनको बाँच्ने जीजीविषा देखेरै चिकित्सकहरूले नयाँ विकल्प सुझाए, बेनेटमा बंगुरको मुटु प्रत्यारोपण गर्ने। गत अक्टुबरमा चिकित्सकहरूले ‘ब्रेन डेथ’ भइसकेकी महिलामा बंगुरको किड्नी प्रत्यारोपण गरेका थिए।
मान्छेमा जनावरका अंगहरू प्रत्यारोपण गर्न थालिएको धेरै पहिलादेखि हो। जनावरका अंग मानवमा प्रत्यारोपण गर्नुलाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ। सन् १९६० को दशकमा केही मानिसहरूमा चिम्पान्जीका किड्नी प्रत्यारोपण गरिएका थिए। चिम्पान्जीको किड्नी राखेका एकजना मान्छे नौ महिनासम्म बाँचेको थिए। अरू त्यो भन्दा कम समयमै बितेका थिए। सन् १९८३ मा बेबी फाय नामकी बालिकामा बबुनको मुटु प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनी २० दिनभन्दा बढी बाँचिनन्।
पछिल्लो समय वैज्ञानिकहरूले बंगुरका अंगहरूलाई मानव शरीरले स्वीकार्ने सम्भावना बढी भएको पत्ता लगाएका थिए। बंगुरहरू हुर्काउन पनि सहज हुने र ६ महिनामै उसका अंगहरू वयस्क मानिसका लागि सुहाउँदा हुने भएकाले पनि वैज्ञानिकहरूले बंगुरमा जोड दिएका थिए। यसअघि वैज्ञानिकहरूले बंगुरका मुटु ५० वटा बबुनमा प्रत्यारोपण गरेका थिए। बंगुरको मुटुका भल्भहरू मान्छेको मुटुमा राख्ने क्रम त पछिल्लो समयमा निकै बढेको छ।
बेनेटको शरीरमा मुटु प्रत्यारोपण गर्न लागिएको बंगुर जेनेटिक इन्जिनिरिङबाट तयार पारिएको थियो।
भर्जिनियाको ब्लाक्सबर्गस्थित रिभाइभिकर कम्पनीले उक्त बंगुर तयार पारेको थियो। मानव शरीरमा बंगुरको मुटुले राम्ररी काम गरोस् भनेर बंगुरमा १० वटा जेनेटिक परिवर्तनहरू गरिएको थियो। बंगुरमा हुने चार वटा जिनलाई निष्क्रिय पारिएको थियो भने मानव शरीरले बंगुरको मुटु सहजै स्वीकारोस् भनेर मान्छेका छ वटा जिन बंगुरमा राखिएको थियो।
निष्क्रिय पारिएको बंगुरको जिन मध्य एउटा मानव शरीरमा आक्रमक रूपमा अस्विकार हुने अणु बनाउने थियो भने अर्को मुटु मानवमा प्रत्यारोपण गरिसकेपछि पनि आकार नबढोस् भनेर गरिएको थियो।
अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले डिसेम्बर ३१ मा बंगुरको मुटु मान्छेमा प्रत्यारोपण गर्न अनुमति दिएको थियो।
बेनेटको शल्यक्रियाको नेतृत्व डाक्टर बार्टली ग्रिफिथले गरेका थिए। उनी युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरको मुटु प्रत्यारोपण कार्यक्रमका प्रमुख पनि हुन्।
एफडिएको अनुमतिपछि डाक्टर ग्रिफिथले बंगुरको मुटु प्रत्यारोपणको अन्तिम तयारी थालेका थिए।
‘मैले बेनेटलाई मान्छे मुटु दिन सक्दैनौं तर बंगुरको मुटु प्रयोग गर्न सक्छौं भनें,’ डाक्टर ग्रिफिथले भने,‘यसअघि कहिले पनि यस्तो गरिएको छैन तर हामी सक्छौं भन्ने लाग्छ।’
बेनेटले आफ्नो कुरा बुझ्दैनन् कि भन्ने उनलाई डर थियो।
बेनेटले भनिदिए- हुन्छ, त्यसपछि म बंगुरजस्तै कराउँछु होइन?
अप्रेशनको अघिल्लो दिन बेनेटले बाँच्ने आशमा आफूले बंगुरको मुटु लिएर अँध्यारोमा तिर हानेको बताएका थिए।
‘कि मर्नु पर्ने कि यो प्रत्यारोपण गर्नुपर्ने अवस्था भयो। म बाँच्न चाहन्छु। मलाई थाहा छ, यो अँध्यारोमा हानिएको तिर हो तर यो नै मेरा लागि अन्तिम विकल्प हो,’ बेनेटले भनेका थिए।
सबै तयारी पूरा भएपछि बंगुरको मुटु निकालेर विशेष भाँडोमा राखिएको थियो। डाक्टर ग्रिफिथको टिमले आठ घन्टा लगाएर बंगुरको मुटु बेनेटको शरीरमा राखेको थियो।
‘यी भद्र मान्छेबाट हामीले हरेक दिन नयाँ कुरा सिकिरहेका छौं,’ डाक्टर ग्रिफिथले सोमबार भनेका छन्,‘र अहिलेसम्म यो प्रत्यारोपण गर्ने निर्णयप्रति खुसी छौं। उनको अवस्था पनि राम्रो छ। आज उनको अनुहार निकै हँसिलो थियो।’
बेनेटको शरीरमा बंगुरको मुटुले कसरी काम गर्छ?, बंगुरको मुटुले काम गरेर उनी धेरै समय बाँच्छन् कि बाँच्दैनन्? भन्ने प्रश्नका उत्तर अनिश्चित छन्।
अहिलेलाई वैज्ञानिकहरूले बंगुरको मुटु मान्छेमा प्रत्यारोपण हुनु र तीन दिनसम्म बेनेटले त्यही मुटुको सहारामा सास फेर्नुलाई महत्वपूर्ण उपलब्धी बताएका छन्।
बंगुरको मुटुको सहारामा बेनेट कति दिन बाँच्छन् थाहा छैन तर उनले आफ्नो शरीरमा बंगुरको मुटु राख्न दिएर संसारभरिको अंग प्रत्यारोपणलाई नयाँ उचाइमा पुग्न महत्वपूर्ण योगदान पुर्याएका छन्।
(द न्युयोर्क टाइम्स, एपीलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित)