सरला रेग्मी
पाँचथर । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु अपराध हो । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएर मात्र प्रदेश १ मा ३ सय ४२ दुर्घटना भएको छ । त्यस्तै नियम बिपरित ओभरटेक गरेर सवारी साधन चलाउनुपनी अपराध मानिन्छ । जस्को कारण यो बर्षमात्र १ सय ४८ दुर्घटना भएको छ । पछिल्ला केही दिनमा भएका सडक दुर्घटनाका घटनाहरूको तथ्यांक हेर्दा त झन स्तब्ध नै बनाउछ ।
हरेक बर्ष ट्राफिक नियम उल्लङ्घन गर्दा एक तर्फबाट हेर्दा सरकारलाई फाइदा नै पुगेको देखिन्छ किनकी हरेक बर्ष राजस्व संकलन बढ्दै गएको छ । तर राजस्व संकलन बढ्नु भनेको सडक अपराध पनि त बढ्नु हो । जुन बिकराल बन्दै गएको छ ।
पाँचथर जिल्लाको आर्थिक बर्षको तथ्यांक हेर्दा ट्राफिक प्रहरीले गज्जब राजस्व संकलन गरेको देखियो । गतबर्ष १४ लाख २८ हजार राजस्व संकलन गरेको थियो भने यो बर्ष अघिल्लोको तुलनामा ३० प्रतिशत बढी राजस्व संकलन गरेको छ । पाँचथर जिल्लाको तथ्यांक मात्र होइन प्रदेश १ कै तथ्यांक हेर्ने हो भने हरेक बर्ष राजस्व संकलन बढेको देखिन्छ । २०७४\७५ को ट्राफिक कार्यालयको तथ्यांक हेर्दा २०७४\७५ मा २ लाख ६४ हजार ६ सय १० सवारी साधन कार्वाही भएका थिए भने जरिवाना १६ करोड १६ लाख १ हजार रुपैया संकलन भएको देखिन्छ । भने २०७८\७९ मा आइपुग्दा कार्वाही संख्या २ लाख ६९ हजार ८ सय २३ संख्या पुगेको छ । कार्वाही गरे बापत १८ करोड १ लाख ५९ हजार राजस्व संकलन भएको छ ।
यो पाँच बर्षको अवधिमा साढे ११ प्रतिशतले राजस्व बढी संकलन हो । अर्थात साढे ११ प्रतिशत बढि सडक अपराध बढेको हो । मादक पदार्थ सेवन गरेर सवारी साधन कार्वाही भएको संख्या पनि गतबर्षहरु भन्दा अधिक छ । २०७४÷७५ मा ४ हजार ५ सय ७ थियो भने यस्को संख्या २०७६\७७ मा १० हजार ७ सय २६ पुगेर अहिले २०७८\७९ मा घटेर ५ हजार १ सय ३१ पुगेको छ ।
तर, प्रदेश १ मा सवारी दुर्घटनाको संख्या भने उत्तिकै बढ्दो छ । २०७४\७५ मा ४ सय २४ जनाले ज्यान गुमाएका थिए भने २ हजार ७२ घाइते भएका थिए । चौपायामा ३ को मृत्यु र ५ घाइते देखिन्छ । यो संख्या २०७८\७९ मा आइपुग्दा ५ सय ३१ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ, ६ हजार ६ सय ४८ जना घाइते भएका छन् । चौपायामा १२ वटाको मृत्यु र १ वटा घाइते भएको तथ्यांक छ । २०७८\७९ मा सडक दुर्घटनाबाट मात्र दैनिक औषत मृत्युदर १.४५ प्रतिशत रहेको छ ।
यो त भयो राजस्व संकलन र दुर्घटनाको तथ्यांक यो तथ्यांक हेर्दा लाग्छ गएका बर्ष भन्दा अहिले सडक अपराध बढेको देखिन्छ । बिशेषगरि तिब्रगतिका कारण दुर्घटना हुने संख्या १ हजार ८ सय १ छ । चालकले लापरबाही गरेर ट्राफिक नियम उल्लंघन गर्ने संख्या ७ सय २२ छ । यात्रुको गल्तिको कारण ४ सय ३८ दुर्घटना भएको छ । मापसेका कारण ३ सय ४२ दुर्घटना भएका छन् । सडक अवस्थाका कारण १ सय ९६ दुर्घटना भएका छन् । भने ओभरटेक बाट १ सय ४८ । यातायात गडबडीका कारण १ सय १५ दुर्घटना , चौपायाका कारण ३०, मौषमको कारण २७ र अन्य कारण मा १ दुर्घटना भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय सुनसरिका सुचना अधिकारी राकेश रेग्मीले जानकारी दिए जुन तथ्यांकले देखाएको छ ।
यो तथ्यांक हेर्दा सडक अपराध बढेको देखिन्छ । यसरी सडक अपराध बढ्दै गर्दा प्रदेश १ को ट्राफिक प्रहरी कार्यलय सुनसरिले के गर्दै छ त ?
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले २०७५\७६ मा सडक जनचेतना शिक्षा, बिद्यालयमा ट्राफिक नियम, गाडी भित्रका यात्रुलाई र चालकलाई गरि १६ हजार ३ सय ७९ पटक र ३ लाख २४ हजार ३ सय जनालाई जनचेतनामुलक कार्यक्रम गरिएको देखिन्छ । त्यस्तै यो संख्या २०७८\७९ मा आइपुग्दा २ हजार १ सय ५१ पटक र ३ लाख ८५ हजार ५ सय ४५ जनालाई जनचेतना मुलक कार्यक्रममा समाबेश गरेर संचालन गरेको तथ्यांक छ । त्यति मात्र होइन मादक पदार्थ सेवन गर्नेलाई चेकजाँच गर्दा भेटेमा चालकलाई २४ घण्टे पूर्जी थमाउँदै लिखित परीक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने नियम पनि बनायो । चालक अनुमती पत्रमा प्वाल पार्ने कामपनि भयो । विभिन्न संघ संस्थासंग मिलेर जनचेतनामूलक कार्यक्रमपनि नभएका होइनन् तर सडक अपराध भने घटेको छैन् ।
१ नम्बर प्रदेशट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरिका प्रहरी उपरिक्षक (एसपी ) बासुदेव खतिवडा भन्छन् – सरकारले सडक दुर्घटना रोक्न अनेकन प्रयास गरिरहेको छ । ट्राफिक नियमका बारे जो जानकार छन्, नियम उल्लङ्घन गर्ने पनि उनिहरु नै छन् ।
सडक दुर्घटना न्यूनीकरणलाई नीतिगत रुपमा प्राथमिकता नदिएको भने होइन । नेपालको संविधानमा यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि र वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई प्रोत्साहन र निजी यातायातलाई नियमन गरी यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकूल बनाउने कुरा उल्लेख छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रस्तावनामै दुर्घटना रोकथाम गर्ने, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने, बिमा व्यवस्था गर्ने लगायतका उद्देश्यहरू पूरा गर्न ऐन जारी गरिएको उल्लेख छ । तर उल्लिखित उद्देश्य पूरा गर्न ऐन, नियमावली तथा दर्जनौ कार्यविधि र निर्देशिकाहरूमा गरिएको व्यवस्थाको कार्यान्वयन भने कमजोर देखिन्छ ।
सडक दुर्घटना सम्बन्धमा गरिएका अधिकांश अध्ययन, विश्लेषण र समीक्षाहरूले सवारी चालकको लापरबाही र तीव्र गति, यान्त्रिक गडबडी, असुरक्षित सडक, पुराना गाडि, अनि बिशेष कुरा त प्रहरीलाई देखाउनका लागि प्रयोग गरीने सिटबेल्ट, हेल्मेट, सवारी इजाजत पत्र , रुट परमिट नहुनु नै सडक अपराधका मुख्य कारण बन्दै गएको १ नम्बर प्रदेशट्राफिक प्रहरी कार्यलय सुनसरिका प्रहरी उपरिक्षक (एसपी) बासुदेव खतिवडा बताउछन् । उनी भन्छन् ‘सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्नु, ‘लेन’ अनुशासनको पालना नगर्नु, जथाभावी चढ्ने र ओर्लने गर्नु, दुई पाङग्रेमा पछाडि बस्नेले ‘हेल्मेट’ नलगाउनु, पैदलयात्रीले जथाभावी सडक काट्नु जस्ता हेलचेक्र्याइँपूर्ण व्यवहारले पनि सडक अपराध बढेको हो । खतिवडा भन्छन् गाडिको पाङ्रा पाङ्रा र स्टेरिङ्मा प्रहरी बस्न सक्दैन । प्रहरी संख्यापनि छैन । त्यसैले जब सम्म स्वयं व्यक्तिको आचरण या भनौ सरकारले बनाएको नियम प्रति आफ्नो दायित्व बुझ्दैन जनताले तब सम्म सडक अपराध घट्दैन् ।
हाल भइरहेको समस्यालाई बेवास्ता नगरी समाधान गर्ने प्रयास तिनै तहको सरकारले गर्नुपर्छ । सडक अपराध न्यूनीकरणकालागि प्राथमिक तह देखिकै पाठ्यक्रममा ट्राफिक नियम उल्लङ्घन गर्दा हुने कानुनी कार्वाही र यस्ले दिने जोखिम र भविष्यमा परिवर्तन हुने यातायात र सडक सञ्जालको अवस्थालाई ध्यानमा राखी निरन्तर भावी योजना तयार गर्ने काम राज्यले गर्न सकेमा मात्र सडक अपराध घटाउन सकिने देखिन्छ ।