सरला रेग्मी
पाँचथर । झ्याप्प दाह्री पालेको कोहि मान्छे तपाइँको छेउमा बसे तपाइँलाई कस्तो लाग्छ ?
छ्या फोहोरी ?
कस्तो डरलाग्दो मान्छे ?
कुल…. अचेल त दाह्रीवालाकै छ जमाना ?
या अरु प्रती खासै ध्यान दिनु हुन्न ?
यो प्रश्न छोडौ यो भन्नू कि तपाईं झ्याप्प दाह्री भएको व्यक्तिलाई भेट्न साथ कत्तिको बिश्वास गर्नु हुन्छ ?
तपाइँको घरमा बाक्लो अनि लामो दाह्री भएको केटो छोरी माग्न आए छोरी दिनु हुन्छ ?
खैर, छोडौ यो कुरा पनि । दाह्री भएको व्यक्ती देख्दा यी माथिका मध्धे तपाईको मत जे आओस् छोडौ त्यस्लाइ तर यति त हो कि दाह्रीवाला व्यक्तित्वले बिस्तारी बिस्तारी हाम्रो समाजमा दाह्रीवाला खराब हदैनन् भन्ने पार्दै गरेको बिश्वास त गर्नु हुन्छ नि ?
म एउटि महिला भएर दाह्रीको मतलब किन गर्दै छु ? न मलाइ दाह्रीले हैरान बनाएको छ, न किन पालेको भनेर प्रश्न नै आएको छ । तर समाजमा दाह्रीवालाको उपस्थिति बाक्लो भएको अनुभूति गर्न सक्ने भएका छौ । ‘गालामा दाह्री काधमा जिम्मेवारी’ भन्ने भनाईले गालामा दाह्रीनहुँदा जिम्मेवारी हुदैन र भन्ने भावको खण्डन गर्न बसेको पनि होइन है फेरी ।
अचेल दाह्रीको उपस्थिति बाक्लै हुँदै गर्दा हाम्रो दृष्टि कत्ती परिवर्तन भएको छ भन्ने कुरा मात्र हो । हाम्रो जमानामा हामि चट्ट मिलाएको दाह्री, सफा मुहार, चक्लेटि, गोरो अनुहारमा केटिहरु फिदा हुन्थ्यौ तर अहिलेको जेनेरेसनलाई सोध्ने हो भने झ्याप्प दाह्री भएका केटा रोजाइमा पर्दा रहेछन् ।
इटहरिकी २४ बर्षिय श्रेया दङगालको पहिलो रोजाइ झ्याप्प दाह्री भएको मै जान्छ रे, उनले भनिन ‘झ्याप्प दाह्री भएको केटो अलि परिपक्क हो कि जस्तो लाग्छ’ । स्टाफ नर्स शौरभिको पनि दाह्रीवालामै नजर जाने र हेन्डसम लाग्ने बताइन् । यी त सामान्य जिवन यापन गर्नेको कुरा भयो । सेलिब्रेटी देखि नेपालका बोल्ड मानिएका कलाकारपनी झ्याप्प दाह्री भएका सँगनै सम्बन्ध स्थापित गरेको देखिन्छ ।
मिस नेपाल शृखला खतिवडापनि झ्याप्प दाह्री भएका ब्लगर शिसन बानियाको प्रेममा मस्त छिन् । बोल्ड गायिकाको रुपमा परिचित इन्दिरा जोशिलेपनी झ्याप्प दाह्री भएका फेसन डिजाइनर सरद केडियासँग बैबाहिक सम्बन्धमा बाधिएकी छन् । यी त भन्नका लागि उदाहरण पात्र मात्र हुन् ।
जे जे भए पनि आजभोली केटाहरु खुब दाह्रीमा देखिन थालेका छन् । पाँचथरका संचारकर्मी गिरिराज बाँस्कोटाको पनि कर्ली कपाल र झ्याप्प पारेको दाह्रीकै कारण धेरै माझ परिचित छन् उनि, उनको दाह्री झ्याप्प नभएपनी दाह्रीवाला मै गनिन्छन् । किन दाह्री पालिराखेको भन्ने बारे त्यति नखुलेपनी उनलाई दाह्रीले परिचय दिएको छ । कुनै बेला नाकको डाढी भाचीदिने धम्की खाएका इटहरीका संचारकर्मी बिराट अनुपमले पनि झ्याप्प दाह्रीपालेका छन् । शुरुमा केटिबाट धोका पाएर दाह्री पालको भएपनी पछि सोखले पालेको उनी बताउछन् । आइ टि पढेका बिक्रम भन्छन् “हेर्दा फुच्छे छु, दाह्री पाल्दा अलि परिपक्व देखिए त्यही भएर पालेको बताउछन्” । भर्खर दाह्री उम्रीन थाले देखि अलि उमेर खाएकाहरुपनी दाह्रीको सोख राख्ने क्रेज एक प्रकारले छ, या भनौ दाह्रीको माहोल देखिएको छ ।
रानीगाउँबाट गाडी चढेका बिनयको झ्याप्प परेको दाह्रीदेखेर चालकले सोधे तपाईंको दाह्री त गज्जब रहेछ, आफ्नो त पालौ भन्छु पाल्नै सकिन, हातले आफ्नो गाला देखाउदै भने यी हेर्नू त आफ्नो त ठाउँ ठाउँ मात्र आउँछ । निराश हुँदै भने आफ्नो त दाह्रीपाल्ने सोख सोखनै रहने भयो ।
पछिल्ला बर्षहरुमा दाह्रीका सोखिन तन्नेरिहरुको संख्या शहरमा मात्र होइन गाउँ गाउँमा भेटिन थालेका छन् । यिनिहरु कुनै ध्यानमा गएर काट्न नभ्याएर दाह्री बढेको होइन । दाह्रीपाल्ने माहोल नै बनेको छ । दाह्री नयाँ होइन दाह्रीको ईतिहास छ । हरेक शताब्दीमा दारिको मूल्य र मान्यता आफ्नै छुट्टै रहेको पाइन्छ । दाह्रीको ईतिहास हेर्दा रसियामा १७ औ शताब्दीमा पिटर नाम गरेका राजाले दाह्रीपाल्ने जनताबाट कर उठाउने गरेको ईतिहास भेटिन्छ । इजरालिहरुका धर्म ग्रन्थले दाह्रीकाट्नु नहुने मान्यता राख्थ्यो । इजिप्टमा उपल्लो तहका कर्मचारिले चिउँडोमा मात्र दाह्रीपाल्ने र सुनको धागोले बाध्ने चलन थियो । भने राजामहाराजाले दाह्रीमा सुनको मुकुट बनाएर लगाउदा सार्वभौम सत्ताको संकेत गथ्र्याे । छिमेकी राष्ट्र भारतमा दाह्रीलाई गरिमा र बौधिकता र इज्जतसँग जोडेको ईतिहास भेटिन्छ । चिनमा मानव शरीर बरदान र यो शरिरमा जे आउँछ त्यस्लाइ अपनाउनु पर्ने मान्यता राखेको पाइन्छ । १९२७ मा हेन्स एन ल्याङ्सेटले ५ दशमलव ३३ मिटर लामो दाह्रीपालेर गिनिजबुक अफ वल्ड रेकर्डमा नाम लेखाएर जीवन त्याग गरिसके ।
दाह्रीवाला व्यत्तित्वले सवै उमेर समुहमा सकारात्मक एउटा स्थान बनाउदै गरेको चै पक्का हो ।
बाबाको जस्तै लामो दाह्रीबनाउने भनेर ९ बर्षको बालकले बाबाको रेजर चलाउदा गाला काटिएको खबर सुनाउदै दिदिकी छोरी घरमा मरुन्जेल हास्दै थिइन ।घरमा आमा बुवाको गनगन, श्रीमती भए उनको ढुस्क्याई अनि प्रेमिका भए उनको आँखा तराइको सिकार भएको थियो कुनै बेला दाह्री । दाह्रीपालेका छोराका आमाले भन्ने गरेका छन् – ‘के सारो फोहोरी भएको जा गएर दाह्रीकाट’, ‘तेरा दारिमा झुन्डिने भए’, ‘यस्तालाइ त छोरी पनि कस्ले दिन्छ होला र’ ?
हो, आमाहरूलाई छोरी दिन समस्या हँुदो रहेछ । लामो समय प्रेम सम्बन्धमा रहेकी आस्मालाई घरमा यहि केटा हो भन्न गार्हो भयो । किनकी उज्ज्वलको दाह्री थियो । केही समय दाह्रीकै कारण ब्रेकअप हुने अवस्था आयो । बिबाह नहुन्जेल दाह्रीकाट्ने बिबाह पछि पाल्ने सर्तमा दाह्री काटेर केटिको घर गएका उज्ज्वल, बिबाह भयो अब दाह्री काटिदैन भन्दै मख्ख थिए ।
दाह्रीप्रती किन बितृणा लागेको त्यो चै थाहा छैन । तर सानामा बालबालिकालाई डर देखाउन पनि दाह्रीको कथा कथिन्थ,े हजुरबुबा हजुरआमाहरु । पहिला दारि भएको डरलाग्दो प्रतिबिम्बित कथा सुन्न पाइन्थ्यो, त्यही भएर हो कि ? एउटा उमेर समुहमा अझै दाह्रीप्रती बितृणा नै छ ।
घरी घरी त यो बितृणा सिनेमाले ल्याइदिएको हो कि जस्तो पनि लाग्छ । हिन्दी सिनेमा र नेपाली सिनेमामा प्राय लामा दाह्री भएका खलनायक पात्र र दाह्रीकाटेर चटक्क मिलेका व्यक्ती नायक पात्रका रुपमा सानै देखि देखेर हो कि किन दाह्रीभएको व्यक्ती फटाहा नै होला भन्ने मानसिकता अझै हामी माझ जिउदै छ । जब जब साउथ सिनेमा नेपाली हल र टेलिभिजनमा देखिन थालियो अनि मात्र केही सकारात्मक छवि हाम्रो निर्माण हुन थाल्यो । किनकी जतिपनी साउथ सिनेमाका नायक छन् ती प्राय दारिभएका छन् । जसले गर्दा पनि दारीवाला खलनायक मात्र हुदैनन है भन्ने मेसेज दिएको छ ।
पछिल्लो समय दाह्रीपाल्नेको जमात देख्दा लाग्छ कि , दाह्रीपाल्न रुचाउनेहरुले भित्र भित्रै आन्दोलन गरे जस्तो पनि देखिन्छ बजारमा देखिएका टिसर्टहरुमा “मेरो दाह्री दुनियालाई किन भारी’’ ‘गालामा दाह्रीकाधमा जिम्मेवारी’ का टिसर्टका क्याप्सन धेरै पहिला देखिन्थे, त्यो बेला यसै दाह्रीवालाहरु खासै भेटिन्न थिए । तर अहिले जसरी दाह्रीको माहोल बनेको छ, बिश्वाश गर्न सकिन्छ कि दाह्रीका सोखिनले भित्र भित्रै दाह्रीको मौन आन्दोलन नै गरेका थिए होलान् ।
नेपालको परिपेक्षमा दाह्रीको जमात देखिन थालेको धेरै भएको छैन । मलाई याद छ मैले पहिलो पटक दाह्रीभएको तस्बिर अमेरिकाका १६ औ राष्ट्रपति अब्राहम लिन्कनको देख्या थिए । मलाई लाग्थियो सदगुरु, ऋिषिमुनिहरु जस्ता व्यक्तित्वले मात्र लामा लामा दाह्री पाल्छन । तर राष्ट्रपतिले पनि पाल्दा रहेछन् । त्यो भन्दा पछाडी बिराटनगरमा ठुला ठुला माल बाहक ट्रक कुदाउने घुमाउरो टोपी लगाएका पञ्जाबिहरु देखेको थिए । नत्र नेपाली परिबेशमा हेर्ने हो भने लामा लामा दाह्रीभएका खासै देखिदैनन थिए ।
नत्र हेरौ त सामाजिक शिक्षा पढ्दा जतिपनी राजाका बारे पढियो कसैको दाह्री थिएन । पृथ्वीनारायण शाह देखि ज्ञानेन्द्र शाह सम्म आइपुग्दा र महोन शमशेर देखि जुद्द शमशेरको बारे पढ्दा कसैको दाह्री छैन, अल्प संख्या बाहेक, बरु लामा कान सम्म पुगेका जुँगा देखिन्थे ।
दाह्री अब दाह्रीमात्र रहेको छैन यस्ले दाह्री ग्याङ समेत बनाएको छ । पछिल्ला बर्ष दाह्रीपाल्न सोख राख्नेहरुले दाह्री ग्याङ ग्रपनै बनाएको छ । दाह्री ग्याङले सामाजिक संजाल फेसबुकमा दाह्री ग्याङ नामक फेसबुक पेज नै चलाएका छन् । जहाँ उनिहरु आ आफ्ना अनुभूति मात्र साट्दैनन दारिका अनेकन रहस्य र किस्सा पनि बाड्छन । यस अर्थ समाजमा दाह्रीलाई स्थापित गराउन धेरै पहल भएको देखिन्छ । या भनौ दाह्रीवाला खराब हुदैनन् है भन्नकै लागि पनि दाह्रीग्याङले सामाजिक कार्य समेत गरेका छन् ।