काठमाडौँ ।अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर भक्तपुरको बालकोटमा कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच भएको वार्तामा कुरा नमिली सकिएको छ।
कांग्रेस र एमालेका ६ नेताबीच करिब ३ घण्टासम्म भएको वार्तामा सहमति हुन नसकेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
‘हामीले एमालेलाई अमेरिकी सहायता परियोजना एमसीसी मिलेर पास गर्दै विश्वलाई सन्देश दियौँ भन्यौँ ‘, कार्कीले भने, ‘तर एमालेले पुरानै अडान दोहोर्याएको छ। उसले १४ सांसदमाथिको कारबाही सदर भएमा संसद छिरेर सघाउन सकिने बताएको छ।’
कार्कीका अनुसार एमालेले संसदमा पस्न दिने जिम्मेवारी पूरा गर्न कांग्रेसलाई भनेको छ। ‘कांग्रेसले एमसीसीमा सघाउनु भनेको छ’, उनले भने, ‘सत्ता गठबन्धन अझै कायमै छ। आशा गरौँ संसद सुचारु हुन्छ र एमसीसी पनि पास हुन्छ।’
त्यस्तै एमाले महासचिव शंकर पोखरेलले पनि बैठकमा कुरा नमिलेको बताए। उनका अनुसार कांग्रेसले एमसीसी पास गर्न सहयोग मागेको थियो। तर आफूहरुलाई संसदमा पस्ने वातावरण नभएसम्म सहयोग गर्ने अवस्था नहुने जवाफ दिएको उनले बताए।
‘हामीले पहिले संसदमा जान दिन अनुरोध गर्दै आएका छौँ। हाम्रा माग पूरा नभएसम्म हाम्रो सहभागिता हुँदैन भनेका छौँ’, उनले भने,’एमसीसीबारे सहयोग मागियो तर हामीले गठबन्धनमै राय एक बनाउन भन्यौँ। सत्तारुढमा आवाज एक नभएसम्म प्रतिपक्षले बोल्नुको अर्थ पनि रहँदैन।’
उनले सत्तारुढ एक नभएसम्म प्रतिपक्षलाई यसो गर भन्नुको औचित्य नहुने बताए। ‘संसद प्रवेश गर्ने बाटो बनाइदिए हरेक मुद्दामा हामी बोल्न तयार छौँ’, उनले भने, ‘मुलुकको लोकतान्त्रिक भविष्य र राष्ट्रिय हितबारे छलफल गर्न हामी तयार छौँ। तर हामीलाई संसदमा पस्न दिनुपर्यो। त्यसैले अहिले नै हामी नयाँ निष्कर्षमा पुगेका छैनौँ।’
वार्ता सकारात्मक दिशामा अघि नबढेपछि शनिबार साँझ ५ बजे बालकोट जाने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमै रोकिए।
सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिन तयार नभएको तथा एमाले पनि सहकार्यमा तयार नभएपछि देउवा अझै अनिर्णित छन्।