पाँचथर । हिउँद सुरु भएसँगै पाँचथरमा मेला–बजारको समय सुरु भएको छ । तर मेलासँगै ‘डाइस’ सहित विभिन्न जुवाजन्य खेलहरू खुला रूपमा सञ्चालन भइरहेको पाइएको छ । यसले स्थानीय बासिन्दाको लाखौँ रुपैयाँ यस्ता खेलमा खर्च भइरहेको छ ।
हाल फिदिमसहित जिल्लाका विभिन्न स्थानमा तास खेल्ने क्रम ठूलो रूपमा बढ्दै गएको छ । मेलाबजार, चियापसल र सार्वजनिक स्थानहरूमा समेत जुवाजन्य खेलहरू खुलेआम खेलिने क्रम बढेपछि सामाजिक चिन्ता थपिएको छ । मुलुकी अपराध संहिता, २०७४ ले जुवाजन्य खेल खेलाउन र खेल्न पूर्ण रूपमा निषेध गरेको छ । संहिताको दफा १२५ मा यससम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । उक्त दफाको स्पष्टीकरण–१ को (क) अनुसार सार्वजनिक मेला, महोत्सव, पर्व–चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि सानातिना चल–अचल सम्पत्ति जित्ने वा हार्ने प्रकारका खेलहरू नेपाल सरकारको स्वीकृति लिएर मात्र सञ्चालन गर्न सकिने व्यवस्था छ ।
तर पाँचथरमा कुनै पनि सरकारी अनुमति नलिई ‘डाइस’, तास लगायतका जुवाजन्य खेलहरू मेलाबजारमा खुलेआम सञ्चालन भइरहेको पाइएको छ । यही साता मिक्लाजुङ गाउँपालिकामा लागेको कोक्लेबुङ मेलामा समेत खाल खडा गरी जुवा खेलाइएको स्रोतले केन्जोखबरलाई जनाएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिस कुमार कर्णसँग केन्जोखबरले कुरा गर्दा उनले कानुनविपरीतका गतिविधि रोक्नु प्रहरीको कर्तव्य भएको बताएका छन् । “सूचनाका आधारमा निगरानी बढाइएको छ । उजुरी प्राप्त भए तत्काल छानबिन गरी आवश्यक कारबाही गरिन्छ,” उनले बताए ।
तर प्रहरीको भनाइ विपरीत जिल्लाका विभिन्न मेलाबजारमा जुवाजन्य खेलहरू अझै पनि खुलेआम सञ्चालन भइरहेकाले स्थानीयवासीले प्रभावकारी अनुगमन र कडाइका साथ कारबाहीको माग गरेका छन् ।




