पाँचथर- पाँचथरको मिक्लाजुङ–२ मा अवस्थित हेवारी डाँडा प्राकृतिक सौन्दर्य र सांस्कृतिक उत्सवको अनुपम संगम हो । शनिबार र चाड–पर्वका दिन यहाँ स्वस्फूर्त रूपमा मेला लाग्ने परम्परा छ, जसले स्थानीयबासिन्दा र पर्यटक दुवैलाई आकर्षित गर्दै आएको छ ।
साना–साना टाकुरा, हरियाली चउर र खुला भू–भागहरूले डाँडाको रमणीयता बढाएका छन् । डाँडामाथि रहेको झोलुङ्गे पुलले पर्यटकलाई रोमाञ्चक अनुभव दिन्छ भने पुलमुनि अवस्थित पोखरीले वातावरणमा शान्ति र सौन्दर्य थपेको छ ।
यहाँबाट इलाम, झापा, मोरङ, तेह्रथुम, सङ्खुवासभा र धनकुटा देख्न सकिन्छ । साथै, कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु र सगरमाथा लगायतका हिमालहरूको मनोरम दृश्य यहाँबाट लिन सकिन्छ । हिमालदेखि तराइसम्म फैलिएको दृश्यावलोकनले आगन्तुकको मन लोभ्याउँछ ।
डाँडामा बनभोज खान, फोटो खिच्न र म्युजिक भिडियो छायाङ्कन गर्न आउनेहरूको भिडले यस ठाउँलाई अझ जीवन्त बनाएको छ । तर, केही आगन्तुकहरूले फोहोर छोड्ने गरेकाले डाँडाको वातावरण प्रभावित हुँदै आएको छ । यसैले, सरसफाइमा सचेत रहन र स्थानीय सरकारको संरक्षण प्रयासमा सहयोग गर्न आवश्यक छ ।
फिदिमबाट करिब ५४ किलोमिटर टाढा पर्ने हेवारी डाँडा, राँकेसम्म पिच बाटो र त्यसपछि २१ किलोमिटर कच्ची बाटो हिँडेर पुगिन्छ । यहाँको हरियाली, स्थिर पोखरी र हिमालको दृश्यले हरेक आगन्तुकको मनमा अमिट छाप छोड्छ ।
हेवारी डाँडा केवल रमाइलो स्थल मात्र नभएर प्रकृति र सांस्कृतिक मेलाको अनुपम संगम पनि हो ।
भिडियाे
https://www.facebook.com/share/v/1BAHNY37y5/
https://www.facebook.com/share/v/1BAHNY37y5/




