पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ खाम्बेलाकमा आइतबार दिउँसो ८३ वर्षीय वृद्धले नाताले नाती पर्ने ३५ वर्षीय युवकको छुरी प्रहार गरी हत्या गरेका छन्। अप्रत्याशित उक्त घटनाले गाउँ नै शोकमग्न बनेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिश कुमार कर्णका अनुसार ८३ वर्षीय वर्ण सिङ आङ्देम्बेले ३५ वर्षीय प्रेम आङ्देम्बेमाथि छुरी प्रहार गरेका थिए। छुरी प्रहारबाट गम्भीर घाइते भएका प्रेम आङ्देम्बेको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू बाजे–नाती सम्बन्ध रहेको प्रहरीको भनाइ छ।
घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको जानकारी पाउनासाथ डीएसपी कर्णको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने, शव परीक्षणका लागि तयारी गर्ने लगायत प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको गहिरो अध्ययन गरिरहेको र अनुसन्धान पूरा भएपछि छुरी प्रहारको वास्तविक कारण सार्वजनिक गरिने जनाएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।




