पाँचथर । नेपाल तरुण दल पाँचथरले नेपाल–भारत सीमामा अवस्थित चिवा भञ्जाङमा नेपालको झण्डा प्रतिस्थापन गरेको छ। नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिदै भने, “पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि मध्यपहाडी लोकमार्गको भ्रमणका क्रममा यहाँ झण्डा राखेका थिए। समयसँगै पुरानो र थोत्रो भएको झण्डालाई हामीले नयाँ झण्डासँग प्रतिस्थापन गरेका छौं। राष्ट्रिय पहिचान र सीमाको सम्मानको दृष्टिले यो कदम आवश्यक थियो।”
चिवा भञ्जाङ मध्यपहाडी लोकमार्गको सुरुवाती बिन्दु हो। यो लोकमार्ग चिवा भञ्जाङबाट सुरु भएर बैतडीको झुलाघाटसम्म पुग्छ। मध्यपहाडी लोकमार्ग नेपालको महत्वपूर्ण मार्गका रूपमा चिनिन्छ। भ्रमणकर्ताले सधैं यस मार्गको सुरुवाती बिन्दु चिवा भञ्जाङमा राष्ट्रिय झण्डा रहेको देख्ने गर्दछन्।
सुमन लामाले थप दिदै भने, “हामी चाहन्छौं कि राष्ट्रिय झण्डा सधैं सम्मानित र सुन्दर अवस्थामा रहोस्, र प्रत्येक नेपालीले यसबाट गर्वको भावना अनुभव गरोस्।”




