पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाँउमा छिमेकीले खुकुरी प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्। नेत्रप्रसाद चापागाईँले गणेश बाँस्कोटामाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिश कर्णले जानकारी दिए।
बारीको साँध (सिमाना) विवादबारे छलफल भइरहेकै क्रममा एक्कासी नेत्रप्रसादले गणेशमाथि हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी कर्णले बताए।
स्थानीयका अनुसार गोपी बाँस्कोटा र नेत्रप्रसाद चापागाईबीच रहेको साँध विवाद अमिनमार्फत टुंगो लगाइए पनि नेत्रप्रसादले बुधबार गोपीको बारीमा गोगुनको घाँस काटेका थिए। आपत्ति जनाउने क्रममा उनलाई धम्क्याउने प्रयास भएपछि विवाद चर्किएको बताइएको छ।
वडाध्यक्षसहित स्थानीयको उपस्थितिमा विवाद समाधानका लागि छलफल भइरहेकै बेला गणेश बाँस्कोटामाथि खुकुरी प्रहार भएको हो। प्रहारबाट उनको गम्भीर चोट लागेर पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका नेत्रप्रसाद चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको डीएसपी कर्णले बताए।




