पाँचथर । पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार देखिएका हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई काठमाडौँको कपनबाट मंगलबार पक्राउ गरी थप अनुसन्धानका लागि पाँचथर पठाएको हो।
सीआईबीका अनुसार ५० वर्षीय लामा विश्वक्रान्ति, कुमार तथा देवराज लामा नामले पनि चिनिन्छन्। उनी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष हुन्। पाँचथरमा दर्ता विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा उनी लामो समयदेखि फरार रहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०६९ असारमा पाँचथरको भुसपाते क्षेत्रबाट लामा विस्फोटक पदार्थसहित पक्राउ परेका थिए। त्यसबेला उनलाई अनुसन्धानका लागि काठमाडौँ पठाइएको थियो। सोही घटनासँग सम्बन्धित मुद्दा पाँचथर जिल्ला अदालतमा दर्ता भई विचाराधीन अवस्थामा रहेको पाइएको छ।
यसअघि लामा २०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोट घटनामा पनि संलग्न रहेका थिए। उक्त विस्फोटमा तीन जनाको मृत्यु भएको थियो। सो घटनामा फरार रहेका लामालाई प्रहरीले अनुसन्धानपछि अभियोजन गरेको थियो। अदालतबाट कैद सजायको फैसला भएपछि उनले नख्खु कारागारमा सजाय भुक्तान गरेका थिए। उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रिहा भएका थिए।
प्रहरीका अनुसार पाँचथरमा दर्ता विस्फोटक पदार्थ सम्बन्धी मुद्दाको थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन लामा लाई सीआईबीले पाँचथर पठाएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




