पाँचथर । जिल्लाकै पुरानो र ऐतिहासिक शैक्षिक संस्थाका रूपमा चिनिएको फिदिम माध्यमिक विद्यालयले स्थापना भएको ७५ वर्ष पूरा गरेको अवसरमा हिरक महोत्सव आयोजना गर्ने भएको छ। विद्यालयले यही माघ ९, १० र ११ गते तीन दिनसम्म विभिन्न शैक्षिक, सांस्कृतिक, खेलकुद तथा सिर्जनात्मक कार्यक्रमसहित हिरक महोत्सव मनाउन लागेको हो।
२००६ सालमा स्वर्गीय प्रसाद सिंह नेम्बाङको सक्रियतामा ‘प्रसाद प्रारम्भिक स्कुल’का रूपमा स्थापना भएको विद्यालय २०३० सालदेखि फिदिम माध्यमिक विद्यालयका रूपमा नामाकरण हुँदै आएको छ। सात दशकभन्दा लामो शैक्षिक यात्रामा विद्यालयले पाँचथरको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
हाल फिदिम माध्यमिक विद्यालयमा कक्षा १२ सम्म विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र मानविकी संकायको अध्ययन–अध्यापन भइरहेको छ। जिल्लामा निरन्तर उत्कृष्ट नतिजा ल्याउने विद्यालयका रूपमा परिचित फिदिम माविले शैक्षिक गुणस्तर, अनुशासन तथा अतिरिक्त क्रियाकलापमा समेत आफ्नै पहिचान बनाएको छ। यही ऐतिहासिक उपलब्धि र योगदानलाई स्मरण गर्दै विद्यालयले हिरक महोत्सवलाई भव्य रूपमा आयोजना गर्न लागेको जनाएको छ।
हिरक महोत्सवको पहिलो दिन माघ ९ गते औपचारिक उद्घाटन समारोह आयोजना गरिनेछ। सो दिन म्युजिकल पीटी प्रदर्शन, सांस्कृतिक झाँकी, हिरक स्मारिका विमोचन, हिरक स्मारक अनावरण, सम्मान तथा अभिनन्दन कार्यक्रम, विद्यार्थी प्रतिभा प्रदर्शन, शैक्षिक सामग्री प्रदर्शनी र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन्। विद्यालयको इतिहास, योगदान र उपलब्धिलाई उजागर गर्ने उद्देश्यले कार्यक्रमहरू तय गरिएको विद्यालयले जनाएको छ।
दोस्रो दिन माघ १० गते फिदिम नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता, इन्जिनियरिङ तथा विज्ञान प्रदर्शनी, कक्षा १२ सम्म अध्ययनरत छात्र–छात्राबीच मिनी म्याराथन प्रतियोगिता आयोजना गरिनेछ। साथै फिदिम माध्यमिक विद्यालयका शिक्षक–कर्मचारी, फिदिम नगरपालिकाका जनप्रतिनिधि तथा अन्य विद्यालयका सहभागीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ। सोही दिन शिक्षा र शिक्षाविद्को सहभागितामा उत्प्रेरणामूलक प्रवचन कार्यक्रम पनि आयोजना हुने विद्यालयले जानकारी दिएको छ।
हिरक महोत्सवको तेस्रो तथा अन्तिम दिन माघ ११ गते पुनः सम्मान तथा अभिनन्दन कार्यक्रम, सांस्कृतिक कार्यक्रम, विद्यार्थी प्रतिभा प्रदर्शन, शैक्षिक सामग्री प्रदर्शनी र औपचारिक समापन कार्यक्रम आयोजना गरिनेछ। तीन दिनसम्म सञ्चालन हुने महोत्सवले विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने विश्वास लिइएको छ।
फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद भण्डारीका अनुसार हिरक महोत्सव आयोजना गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आवश्यक बजेट विभिन्न निकाय, संघ–संस्था, पूर्वविद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूसँग सहयोग संकलन गरी व्यवस्थापन गरिने उनले बताए। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत विद्यालयले हिरक महोत्सवलाई विगतको गौरवशाली इतिहासको सम्मान, वर्तमान उपलब्धिको उत्सव र भविष्यको शैक्षिक यात्राका लागि नयाँ प्रतिबद्धताको रूपमा लिएको स्पष्ट पारेको छ।




