पाँचथर । नेकपा (एमाले) को जारी एघारौँ महाधिवेशनमा पाँचथरबाट तीन जना नेताहरू केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै आएका यी नेताहरू विभिन्न क्लस्टरमार्फत केन्द्रीय नेतृत्वमा पुग्ने दौडमा छन् ।
आदिवासी जनजाति क्लस्टरबाट पाँचथरका अइन्द्रसुन्दर नेम्बाङ केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन् । नेम्बाङ यसअघि पनि एमाले केन्द्रीय सदस्य भइसकेका अनुभवी नेता हुन् । उनी संविधानसभा सदस्यसमेत रहिसकेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उनको उम्मेदवारी रहेको छ ।
यस्तै, आदिवासी जनजाति महिला क्लस्टरबाट पाँचथरकै भूमिका सुब्बा र आशारत्न जबेगु केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्दैछन् । सुब्बा एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघकी अध्यक्ष तथा जनवादी कलाकारका रूपमा परिचित छन् । लामो समयदेखि एमाले राजनीतिमा सक्रिय सुब्बा प्रभावशाली उम्मेदवारका रूपमा हेरिएकी छन् । उनी पनि अध्यक्ष ओलीको प्यानलमै समेटिएकी छन् । सुब्बा पूर्वमन्त्री वसन्तकुमार नेम्बाङकी श्रीमतीसमेत हुन् ।
अर्की उम्मेदवार आशारत्न जबेगु कोशी प्रदेशकी पूर्वसांसद् हुन् । सांसद रहँदा उनले कानुन निर्माणमा खेलेको भूमिका प्रशंसायोग्य मानिन्छ । एमाले राजनीतिमा लामो समयदेखि सक्रिय जबेगुको उम्मेदवारीले पाँचथरको प्रतिनिधित्व केन्द्रीय तहमा थप मजबुत हुने अपेक्षा गरिएको छ ।
एमाले महाधिवेशनमा पाँचथरबाट तीन जना नेताको एकसाथ केन्द्रीय सदस्यमा उम्मेदवारीले जिल्लाको राजनीतिक उपस्थितिलाई राष्ट्रिय तहमा थप सशक्त बनाउने विश्वास स्थानीय कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।




