इलाम- इलाम बजारदेखि सन्दकपुर सम्म दौडिेने गरी रेड पाण्डा रनको तयारी पुरा भएको छ ।
प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
१ हजार २ सय २० मिटरदेखि ३ हजार ६ सय १० मिटर उचाइसम्म दौडिने गरी रेड पाण्डा म्याराथन आयोजना भएको हो ।
म्याराथनमा ७७ जना सहभागी रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता श्री दिप ज्योती क्लबले आयोजना गरेको हो ।
सम्पूर्ण तयारी पुरा गरीएको क्बलका कार्यकारी निर्देशक सुनिल वान्तवाले जानकारी दिए ।
धावकले ४४ दशमलव २ किलोमिटर दौडिनुपर्नेछ । इलाम चोक बजारबाट पर्यटकीयस्थल सन्दकपुरसम्म दौडिनुपर्नेछ । इलाम, पाँचथर र ताप्लेजुङमा समुदायमा आधारित रेड पाण्डा संरक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।
पुरुष, महिला र स्थानीय गरी तीन श्रेणीमा प्रतिस्पर्धा हुनेछ । स्थानीयमा इलाम, पाँचथर र ताप्लेजुङका धावक सहभागी हुन पाउनेछन् भने बाँकी दुई विधा खुल्ला छन् । महिला र पुरुष दुवैतर्फ प्रथम हुनेले १ लाख ५० हजारका दरले नगद पुरस्कार र ट्रफी पाउनेछन् । दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वनाले ३० हजार रुपैयाँ नगद पाउनेछन् ।
यस्तै, स्थानीयतर्फको प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार रुपैँया नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा प्राविधिक सहयोग नेपाली सेनाको रण शार्दूल गणले गर्दै छ । रेड पाण्डा नेटवर्क र प्ले फर नेचरको सहयोगमा प्रतियोगिता आयोजना भएको हो ।




