सुजन ओझा
नेपालको राजनीतिक इतिहास जनआन्दोलन र जनअसन्तुष्टिको जगमा उभिएको छ। विगतमा भएका ठूला–ठूला आन्दोलनहरूले राज्य संरचनामा निर्णायक परिवर्तन ल्याए पनि ती परिवर्तनहरूलाई संस्थागत गर्दै समृद्धितर्फ उन्मुख गराउने काम भने कमजोर रह्यो। आन्दोलन सफल भए, सत्ता फेरियो, व्यवस्था बद्लियो तर जनताले अपेक्षा गरेको सुशासन, स्थायित्व र आर्थिक उन्नति भने स्थायी रूपमा स्थापित हुन सकेन।
२०३६ सालको जनआन्दोलन त्यसको स्पष्ट उदाहरण हो। जनताको दबाबमा जनमत संग्रह सम्पन्न भयो, राजनीतिक चेतना फैलियो र निरंकुशतामाथि प्रश्न उठ्यो। तर आन्दोलनपछि आएको व्यवस्थाले जनअपेक्षा अनुसार समावेशी राजनीति, जवाफदेही शासन र आर्थिक रूपान्तरणलाई संस्थागत गर्न सकेन। परिणामस्वरूप असन्तुष्टि कायमै रह्यो र त्यो असन्तुष्टिले अर्को ठूलो आन्दोलनको आधार तयार गर्यो।
त्यसैगरी २०६२–६३ को जनआन्दोलनले राजतन्त्र अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटो खोल्यो। संविधान निर्माण, समावेशिता र अधिकारका दृष्टिले यो ऐतिहासिक उपलब्धि थियो। तर आन्दोलनपछिका वर्षहरूमा राजनीतिक दलहरू सत्ता समीकरण, पद र भागबन्डामा अल्झिँदा आन्दोलनको मूल उद्देश्य ओझेलमा पर्यो। सुशासन, रोजगारी, उत्पादनमुखी अर्थतन्त्र र राज्यको संस्थागत क्षमता विस्तारजस्ता विषयहरू प्राथमिकतामा पर्न सकेनन्। परिणामस्वरूप ठूलो राजनीतिक परिवर्तन भए पनि नागरिकको दैनिकीमा अपेक्षित सुधार देखिन सकेन।
यी उदाहरणहरूले के देखाउँछन् भने आन्दोलन आफैं अन्तिम लक्ष्य होइन, त्यो परिवर्तनको सुरुआत मात्र हो। आन्दोलनलाई संस्थागत गर्दै नीति, संरचना र व्यवहारमा रूपान्तरण नगरेसम्म समृद्धि सम्भव हुँदैन। विगतमा यही कमजोरी दोहोरिँदा आन्दोलनहरू सफल भए पनि त्यसको उपलब्धि दीर्घकालीन रूपमा जनताको जीवनस्तरमा प्रतिबिम्बित हुन सकेन।
आज देखिएको जेन्जि आन्दोलन पनि यही ऐतिहासिक पृष्ठभूमिमा उभिएको छ। यसलाई केवल अराजकता वा चुनौतीका रूपमा मात्र हेर्ने हो भने विगतका गल्ती पुनः दोहोरिने जोखिम रहन्छ। परिवर्तनप्रति देखिने असहिष्णुता मूलतः सत्ता गुम्ने डर र नियन्त्रण फुस्किने चिन्ताबाट प्रेरित देखिन्छ। जब आन्दोलन दलको नियन्त्रणबाहिरबाट उठ्छ, तब त्यसले स्थापित राजनीतिक संरचनालाई असहज प्रश्नहरू सोध्छ र यही असहजताबाट बच्न आन्दोलनलाई बदनाम गर्ने प्रयास गरिन्छ।
लोकतन्त्रमा कुनै पनि आन्दोलनलाई दलगत चस्माबाट मात्र हेरेर उपहास गर्नु राजनीतिक चेतनाको कमजोरी हो। परिवर्तनलाई स्वीकार नगर्नेहरूले इतिहास रोक्न सक्दैनन्, बरु आफूलाई इतिहासको गलत पक्षमा उभ्याइरहेका हुन्छन्। अन्त्यमा, जेन्जि आन्दोलनमा देखिएको असन्तुष्टि र कुण्ठाको विस्फोटलाई विगतका आन्दोलनहरूबाट पाठ सिक्दै संस्थागत सुधार र समृद्धितर्फ अघि बढ्ने अवसरका रूपमा लिनु आजको अनिवार्य आवश्यकता बनेको छ। जेन्जिको मुल उदेश्य भनेकै आन्दोलनलाई विकास र सम्वृध्दिमा जोड दिदै रुपान्तरण तर्फ उन्मुख गराउनु हो । सहि बमोजिम राजनैतिक दलले सच्चिन आवश्यक छ।




