पाँचथर । बहुविवाह मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।
जिल्ला पाँचथर कुम्मायक गाउँपालिका–१ बस्ने रुपा तामाङको जाहेरीका आधारमा बादी नेपाल सरकार र प्रतिवादी बिरे भन्ने बिरेन्द्र कुमार लावती विरुद्ध दर्ता भएको बहुविवाह मुद्दामा जिल्ला अदालत पाँचथरले २०७५ बैशाक ६ गते फैसला सुनाउँदै प्रतिवादीहरूलाई जनही १ वर्ष ५ महिना १७ दिन कैद तथा जनही १५ हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।
अदालतको फैसलापश्चात् फरार रहेका प्रतिवादीहरूको खोजतलासका क्रममा २०८२ मंसिर २९ गते उनीहरू आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरूलाई कैद तथा जरिवाना असुल प्रयोजनार्थ जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याइएको थियो।
पक्राउ परेका प्रतिवादीहरूलाई मिति २०८२ पुस १ गते पाँचथर जिल्ला अदालतमा उपस्थित गराइएकामा अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्ने प्रतिवादीहरूमा जिल्ला पाँचथर कुम्मायक गाउँपालिका–१ बस्ने वर्ष ४० का बिरे भन्ने बिरेन्द्र कुमार लावती र ऐ. बस्ने वर्ष ३० की बिमला भन्ने भिममाया तामाङ रहेका छन्।
मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित




