पाँचथर । पाँचथरको निबु खोलामा निर्माण हुन लागेको मेहलबोटे–सिस्नेरी–नवमिडाँडा जोड्ने पक्की पुलको सार्वजनिक सुनुवाइ शनिबार सम्पन्न भएको छ । कार्यक्रम फाल्गुनन्द गाउँपालिका–६ का अध्यक्ष नारायण आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दा, टोल विकास संस्थाका प्रतिनिधि, महिला समूह, युवा क्लब, जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका स्थानीय प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष आङ्देम्बेले पुलको अभावले यस क्षेत्रका कृषकहरूलाई दैनिक जीवनमा ठूलो समस्या हुँदै आएको भन्दै पुल निर्माण पश्चात् आवागमन सहज हुनुका साथै आर्थिक क्रियाकलापमा वृद्धि हुने विश्वास व्यक्त गरे । साथै, पुल निर्माण स्थलभन्दा करिब १०० मिटर माथि प्रत्येक वर्ष मकर मेला तथा मौसमी हाटबजार लाग्ने जानकारी पनि दिए ।
पूर्वाधार विकास कार्यालय पाँचथरका सडक विशेषज्ञ मुकेश कुमार शाहले पुलको डिजाइन, लम्बाइ, भार वहन क्षमता, सुरक्षा मापदण्ड, निर्माण सामग्रीको गुणस्तर र वातावरणीय सुरक्षाका विषयमा प्रष्ट पारे । उनले निर्माण अवधिभर अपनाइने सुरक्षा सतर्कता, जोखिम न्यूनीकरण योजना र गुणस्तर परीक्षण प्रक्रियाबारे समेत जानकारी गराए ।
कार्यक्रममा सहभागी स्थानीयले पुलको स्थान, पहुँच मार्ग, बाढी जोखिम, निर्माणको पारदर्शिता, समयमै काम सम्पन्न हुने–नहुने र अनुगमन संयन्त्रका विषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ दिँदै इन्जिनियर शाहले प्राविधिक मापदण्ड अनुसार डिजाइन भइसकेकाले ठूला प्राविधिक वा प्राकृतिक कारणबाहेक पुलको स्थान परिवर्तन गर्न नमिल्ने स्पष्ट पारे ।
निर्माण व्यवसायी सञ्जिव निर्माण सेवा प्रा.लिका मेनेजिङ डाइरेक्टर विरेन्द्र कुमार श्रेष्ठले तोकिएको मापदण्ड, गुणस्तर र समयसीमाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयको सुझावलाई सकारात्मक रूपमा लिने बताएका छन् ।
उक्त पुल निर्माणको ठेक्का २०८२ साल मंसिर १० गते सञ्जिव निर्माण सेवा प्रा.लिसँग भ्याट र पिएससहित रु ७ करोड ७७ लाख २७ हजारमा सम्झौता भएको हो । पुल निर्माणको अवधि २४ महिना तोकिएको छ ।
पुल निर्माण सम्पन्न भएपछि फाल्गुनन्द गाउँपालिका–१ र ६ का बासिन्दाले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम पारदर्शिता, जवाफदेहिता र जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।




