पाँचथर जिल्लामा धेरै प्रतिभाशाली कविहरुको जन्म भएको छ । ती कविहरु जन्मले पाँचथर भए पनि रोजीरोटीका हिसाबले अहिले नेपाल र नेपाल बाहिर विभिन्न मुलूकमा छरिएर रहेका छन् । संसारको धेरै कुनामा पुगेका छन् । जो जता रहे पनि नेपाली साहित्यको विकास र उत्थानमा लागिरहेका छन् । यो काममा कोही द्रुत गतिमा छन् भने कोही सुस्त । जे, जसरी, जस्तो तरीकाले रहे पनि, काम गरे पनि भाषा साहित्य मै छन् । यही भित्र छन् रामु राना । इनको लेखन सुस्त छ भन्दा अतिशयोक्ति नहोला ? ‘प्रेमका छालहरु – २०५९’ कविता सङ्ग्रह प्रकाशन पश्चात उनको फुटकर रचना र कृति पढ्न पाइएको छैन । रामुु राना भन्दा धेरैले मगर राना सम्झन्छन्, सम्झँदा रहेछन् । पाठकहरु झुक्किँदा रहेछन् । रामु राना ‘राई’ हुन् । राई जातिभित्रको राना साङपाङ हुन । उनको कवितामा धेर निराशा, विसङ्गत्ता, निरिहता पाइन्छ । विसङ्गतिवाद र शून्यवादको प्रभाव नै कविता सिर्जनको मूल आधार देखिन्छ, भेटिन्छ ।
साँझहरु त धेरै बिते
म गन्न सक्तिनँ
कुन कुन तवरले बिते
भन्न सक्तिनँ
मानिसको जीवनमा साँझ आउँछ, जान्छ । सधैं भइ रहने कुरामा कसैको याद रहन्न । अर्थात निरन्तर भइ रहने कुरामा सम्झना उति गर्दैनौं, गरिदैन । कवितामा पनि यही भएको छ । साँझहरु जीवनमा धेरै बित्छन्, त्यो गनेर साध्य छैन, गन्न पनि खास सकिन्न । गन्न नसक्नु भनेको याद नगर्नु हो, नसम्झनु हो । ती बितेका रातहरु कसरी बिते ? कुन कुन तवरले बिते ? भन्नै सकिन्न । याद गरेको भए पो, सम्झना राखेको भए पो ? था हुन्छ । सम्झनलाई त खास परिवेश, खास क्षण हुनु पर्छ । नियमितताको कुनै सरोकार राख्दैनौं । दरकार राख्दैनौं । र नै ती गएका कुराहरुको हेक्का हुन्न । पत्ता हुन्न । थाहा हुन्न । गन्न सकिन्न । भन्न सकिन्न । कि कसरी बिते ? कुन तवरले बिते ? अर्थात कसरी बिताइयो ? ती कुराहरुमा बेहोशी नै भइन्छ ।
तर
जुन साँझमा टुटेउ, छुटेउ
धेरै प्रेमहरुमा एउटा
म त्यो
भुल्न सक्तिनँ
साँच्चै मेरो असफलताको साँझ हो ।
साँझहरु जसरी बिते पनि, कुनै साँझ विशेष हुन सक्छ । धेरै साँझमा एक न एक त सम्झन (राम्रो, नराम्रो) पर्ने नै बन्छ, सम्झन वाध्य भइन्छ । मानिसको जीवन मिलन, विछोडमा पनि समाहित हुने एक थोक हो । ती प्रक्रियाहरुमा खुब हेलिन्छौं । त्यहीँ जीवनका अनेकौं अनुभूतिहरु संगाल्छौं । कवितामा प्रेमी/प्रेमीका यो मामलामा, एक साँझबाट बिरक्तिन्छन् । हुनु पर्ने पनि साँझमा नै, दिनमै पनि त हुँदो हो ? भोगाइहरु मानिसमा विभिन्न समयमा आउँछ, सायद ‘यो’ त्यही भयो । यही समयमा भयो । जीवनमा प्रेमी, प्रेमीकासँग छुट्नु, टुट्नु भनेको अति नै पिडादायी कुरा हो । अति नै वेदनायुक्त कुरा हो । तर के गर्नु ‘हुने हुनामी’ भइ छाड्छ । हो त्यही क्रममा जुन साँझ छुट्यो, टुट्यो धेरै प्रेमहरुमा एउटा प्रेम । त्यो भुल्ने कुरै भएन । अर्थात जुन साँझमा प्रेम टुट्यो, छुट्यो त्यो पक्कै भूल्न सकिन्न । सबै राम्रा कुराले मात्र सम्झन वाध्य बनाउँदैन, कति नराम्रा कुराले पनि सम्झन वाध्य बनाउँछ । यो यही भएको हो । कुरा केही अलमलको पनि छ -‘धेरै प्रेमहरुमा एउटा’ । निश्चय पनि मानिसहरुले धेरै प्रेमहरु गर्छन् नै । इ परिस्थिति जन्य हुन । कविले उठाउन खोजेको प्रेम चाँही नवयौवनाहरुको प्रेमको कुरा हो । अझै यसो भनौं टुटेको प्रेम । धेरैमा आएका प्रेम चाँही संसारिक प्रेम हुन, भौतिक तथा अभौतिक । चर्चा गर्न पर्ने पुरुष र महिलाले गरिने प्रेमको छ । यो एक अर्कामा टुटे पछि, छुटे पछि केही बर्ष, काल भूल्न पक्कै सकिन्न होला ? सायद त्यहीँ बाट प्रेमी, प्रमीकाहरु आफूलाई असफल भएको ठान्दछन् । लक्ष्यमा पुग्न नसकेको मान्दछन् ।
त्यही साँझदेखि मसँग
दोस्रो जन्म भो
जसलाई रक्सीको जन्म भन्न सकिन्छ
धेरै मान्छेहरु जब असफल बन्छन्, लक्ष्यमा पुग्दैनन् तब कुनै न कुनै अम्मलमा, लतमा डुब्न थाल्छन् । त्यसको साहारा लिन थाल्छन् । त्यसले सकारात्मक साथ दिन्छ कि दिदैन ? अधिक मानिसहरुले असफलतामा नराम्रो चीज, वस्तुको अम्मली बन्ने गरेको पाइन्छ । थोरैले मात्र राम्रा चीज, वस्तुमा अम्मल राख्छन् । यो कवितामा जुन साँझमा प्रेमी, प्रेमीका छुटिएका थिए, टुटेका थिए, त्यही दिनदेखि प्रेमीको अर्को जन्म भएको छ । अर्को जुनी शुरु हुन्छ । त्यो दोस्रो जन्मलाई रक्सीको जन्म भन्न सकिन्छ । रक्सीको जन्म भनेको प्रेमी अब रक्सीको साहारामा हुनेछ । रक्सीका साथमा हुनेछ । रक्सीसँग जिउने छ । रक्सी पिउने छ । रक्सीसँग रमाउने छ । रक्सीमा डुब्ने छ ।
तर
अफसोच
त्यो जन्म देख्नेका निम्ति
विपरीत हुँदो हो
जुन म अवतारमा बाँचेको छु
एउटै जुनीमा दोस्रो जन्म लिँदा निश्चय पनि मानिसहरु आश्चर्यमा पर्छन् नै । त्यो देखेर सबै अफसोच मान्ने नै छन् । कति विस्मय पन लाग्न सक्छ । जुन अवतारमा बाँचेको मान्छे अर्को अवतार देख्दा आश्चर्य लाग्नु स्वाभाविक नै हो । मान्छेहरुको स्वभाविक प्रतिक्रिया हुन । अझै विभिन्न तर्कनाहरु खेलाउँछन् । किन यस्तो भयो होला ? के गरेको होला ? के भएको होला ? किन गरको होला ? प्रेममा रमाई रहेको मान्छे, प्रेम टुटे पछि, रक्सी पिएर जिएको अवतार देख्दा पक्कै एक प्रकारले जीवनको विपरीत प्रक्रियामा नै गएको देखिन्छ । प्रेम टुटे पछि हिम्मत लिएर, आँट बोकेर अझ सकारात्मक हुनु पर्ने मानिन्छ – हेर्नेहरु, देख्नेहरु । रक्सी खानुलाई नकारात्मक मानिन्छ । र नै रक्सी अवतार अफसोच मान्दा हुन, ठान्दा हुन । अर्थात बाँचेको अवतार ।
लाग्छ
थोरै समयका निम्ति भए पनि म बाच्नेछु
दुःखलाई नशामा साट्दै
सायद यही हुनुपर्छ मेरो असफलताको साँझ ।
रक्सीबाज भए पछि निश्चय नै आयु नजिकिन्छ । आशाहरु समाप्त हुदै जान्छ । रक्सी नै जीवन ठानियो भने । यद्यपि यो अचुक भने होइन । समायान्तरमा यसको प्रभाव प्रभावकारी बन्दै नै जान्छ । यही कारण थोरै बाँचिन्छ भन्ने सबैलाई हेक्का छ, पक्का छ । त्यसो त दुःखलाई (टुटेको, छुटेको प्रेम) भुलाउने बाहानामा रक्सीको उपभोग बढ्दै जान्छ । त्यो उपभोगले वास्तवमा नकारात्मक असर बढाई रहेको हुन्छ । फेरि था छ यो रक्सीले राम्रो गर्दैन भन्ने केरा पनि । तर पनि यो पिउँछन् । यसैमा जिउँछन् । यो पिउनु, यसैमा जिउनु भनेको असफलतातिर लानु हो । आफैंलाई विसङ्गत बनाउनु हो । त्यसो त जीवन कहाँ सङ्गत छ र ? त्यही विसङ्गतमा सङ्गत छ जीवन ।
रामु रानाको ‘असफलताको साँझ’ कवितामा एउटा प्रेमीले आफ्नो प्रेममा असफल हुँदा रक्सी पिउनु नै आफ्नो मूल उद्देश्य रहेको ठान्छन् । आम मानिसले यो भूमिका निर्वाह गरिरहेता पनि कमिले मात्र लेख्न सक्छन् । यो एउटा साहस हो । हुन त धेरै मानिसहरु यो सोचले चुर्लुम्म डुबेका हुन्छन् । हाम्रो समाजमा प्रशस्त इ, एस्ता मान्छेहरु भेटिन्छन् । कविताको बिषय ठूलो होइन । तर मानव जीवनको चरित्र हो । अर्थात मान्छेले भोगेको जीवन कहाँ सबै मिलेर रहेको छ र ? मान्छेले सोचेका सोच, विचारहरु कहाँ सबै उचित र न्यायिक छन् र ? खासमा मान्छेको जीवन नै एक विसङ्गत जीवन हो । उसको व्यवहार विसङ्गत छ । उसको सोच, विचार त झन अति विसङ्गत छ । मान्छेलाई उसको परिवेशले विसङ्गत बनाउँछ । उसको चाहानाले विसङ्गत बनाउँछ । उसको इच्छा, आकांक्षाले विसङ्गत बनाउँछ । फेरि मान्छे पुरै विसङ्गत भएर पनि सङ्गतमा छ ।
विसङ्गत पनि सङ्गत
विसङ्गत पनि सङ्गत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस