पाँचथर– असार–१५ लाई किसानहरू धान खेती जोडेर विशेष दिनको रूपमा लिन्छन् । दही चिउरा खाएर ‘सेलिब्रेसन’ गर्ने गरिन्छ । यो दिनलाई धान दिवसको रूपमा पनि लिइन्छ । २०६२ सालदेखि धान दिवस मनाउन थालिएको हो । तर सरकारी कार्यक्रम भने केवल रमाइलोका लागि हुन्छन् ।
पाँचथर सहित पूर्वी पहाडी जिल्लामा यतिखेर धमाधम रोपाइ र रोपाइका तयारी भईरहेका छन् । खेतमा कतै भित्ता, अलि तासिरहेका, कतै हिल्याउदै गरेका, कतै रोपाइ लागि तयारी तथा कतै रोपाइ भईरहेको देखिन्छ । छुपुमा छुपु धान रोप्ने, बाहुसे गर्ने, जोत्ने, दादे लगाउने दृश्य निक्कै रमाइलो लाग्छ ।
पाँचथरमा यो वर्ष ४५ प्रतिशत रोपाइ सकिएको कृषि ज्ञान केन्द्र पाँचथरले जानकारी दिएको छ । करिब २ हजार ६ सय ३२ हेक्टरमा रोपाइ सकिएको ज्ञान केन्द्र पाँचथरका निमित्त प्रमुख महेश कुमार चौधरीले जानकारी दिए ।
पाँचथरमा बर्सेनि धान खेती गर्ने क्रम घटेको छ । यो वर्षमात्र ४८ हेक्टरमा धान खेती कम भएको कृषि ज्ञान केन्द्रको तथ्याङक छ । बाढी, पहिरोका कारण धान खेती गर्ने ठाउँ घटेको चौधरीले बताए ।
धान खेती घट्ने अन्य विभिन्न कारण छन् । विगतमा धान खेती हुने कतिपय ठाउँ यतिखेर जंगलमा परिणत भएका छन् । ‘हामीले देख्दा देख्दै खेत जंगलमा परिणत भएका छन् । कतै त बाझैपनि छन्’ खेतमा भेटिएका फाक्तेपका किसान सुखबहादुर चेम्जोङले भने ‘युवाहरूलाई खेतीमा कम रुचि छ । बरु विदेश गएर पैसा कमाउन चहान्छन् । यहाँ भएकाहरूपनि अन्यवालीमा ध्यान दिन थालेका छन् ।’
विगतमा धान खेती हुने ठुला ठुला फाँट खुम्चिदै गएका छन् । पाँचथरमा ५ हजार ८ सय ४८ हेक्टर धान खेती गर्ने मिल्ने जमिन रहेको छ । धान खेती गर्ने क्रम बर्सेनि घटेको छ । गत बर्ष भन्दा ४८ हेक्टर धान खेती घटेको प्रमुख चौधरीले जानकारी दिए ।
खेतीपाति गर्नेको संख्या घट्दै गएको, वैदेशिक रोजगारी, सिचाई सुविधा जस्ता कारणले धान खेती घटिरहेको छ ।
पाँचथरको खङ्खोला, निवु खोला आसपासमा आकर्षक खेत छन् । पाँचथरमा स्थानीय जातको धान खेती बढी हुने गरेको छ । औल क्षेत्रमा रोपाइ हुन् बाँकी छ । कतिपय ठाउँमा बर्खेधान काटने बेला हुन् लागेको छ । पाँचथरमा जेठदेखि साउन अन्तिमसम्म रोपाइ हुन्छ । तर धेरै रोपाइ असारमा सकिन्छ ।