पाँचथर– पाँचथरको विभिन्न ठाउँमा समय समयमा ग्रिनेड, सकेट जस्ता बम भेटिने गरेको छ । बम विस्फोट भएर मान्छेको ज्यानै जाने, घाइते हुने घटना पनि हुने गरेका छन् । हरेक वर्ष यस्ता घटना भएपनि कता कता यस्ता बमछन् भन्ने खोजीनिती तथा निष्क्रिय बनाउने काम अघि बढेका छैनन् ।
नेपालमा शान्ति प्रक्रिया सुरु भएको १९ वर्ष र बारुदी सुरुङमुक्त राष्ट्र घोषणा भएको १४ वर्ष पुगेको छ । तर पनि बम भेटिने क्रम रोकिएको छैन । कानुनी डरले गर्दापनि कतिपय सरकारलाई बुझाउने वा देखाउने काम नहुने गरेको बताइन्छ ।
पाँचथरको फिदिम नगरपालिका–६ सिवामा भूपाल तुम्रोकको घरमा परिवारका सदस्यले शङ्कास्पद बस्तु देखेपछि प्रहरीले खबर गरे । नजिकै रहेको नवमिडाँडा प्रहरी चौकीबाट गएका प्रहरी टोली पुगेर हेर्दा शङ्कास्पद जस्तो बस्तु बम हुन सक्ने आशँका गर्यो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ख्यामराज घिमिरे नेतृत्वको प्रहरी टोलि पुगेर घटना स्थललाई सुरक्षित गर्यो । नेपाली सेनाको विरदल गण ओदीनको टोलिले उक्त बमलाई निष्क्रिय पारेको छ । ग्रिनेड बम भएको सुरक्षा निकायको अनुमान छ । नेपाली सेनाले परीक्षणमा पठाएपछि आउने रिर्पोटलेमात्र कस्तो बम हो ? कति शक्तिशाली हो भन्ने खुल्ने बताइएको छ ।
यो शुक्रवार बिहानको घटना हो । तर यस्ता बम भेटिनेमात्र नभई विस्फोट भएर ज्यानै जाने तथा घाइते हुने घटना पनि विगतमा भएका छन् ।
बम कहिलेदेखि थियो भन्ने परिवारकै सदस्यलाई समेत थाहा नभएको बताइएको छ । कसरी बम आइपुग्यो, कस्तो बम हो भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल बुढाथोकीले बताए ।
२०८१ भदौ–१२ गते पाँचथरकै फालेलुङ गाउँपालिकाको प्राङबुङमा बम विस्फोट हुँदा दुई जना बालबालिकाको मृत्यु भयो । यहाँ विस्फोट भएको ग्रिनेड थियो । आईतराज केरुङको घरको आगनमा खेलौना सम्झेर खेलाउदा १२ वर्षीय दिप्सन र २ वर्षीय प्रिन्सा साँवाको मृत्यु भयो भने दुई जना बालबालिका घाइते भएका थिए ।
द्वन्द्वकालकै बम भएको हुन् सकने अनुमान गरिएको थियो । यो घटनालाई भवितव्यको रुपमा मात्र लिइयो ।
२०७४ वैशाखमा पाँचथरकै हिलिहाङ–७ मा जंगलको ओडारमा विस्फोट हुँदा बाख्रा गोठालो गएका दुई जना घाइते भएका थिए । त्यसबेला ओडारमा आगो बाल्दा विस्फोट भएको थियो । विस्फोटले १५ वर्षीय र १७ वर्षीय जना घाइते भएका थिए ।
केही वर्षअगाडि फाल्गुनन्द गाउँपालिकाको चिलिङदिनमा पनि विस्फोट भएको थियो । बारीमा भेटिएको वस्तु खेलौना भनेर खेलाउँदा विस्फोट भएर बालकका हातका औँला चुँडिएका थिए ।
गत वर्ष प्राङ्बुङमा विस्फोटको घटना भएपछि विपद् व्यवस्थापन समितिकै बैठकमा पनि काही कतै ग्रिनेड, सकेट बमहरू हुन सक्ने भएकाले निश्चित समय तोकेर बुझाउनलाई सूचना गर्नु पर्ने चर्चा भएको थियो ।
कानुनी कार्बाही हुने डरले कतिपयले द्वन्द्वको समयमा विभिन्न ठाउँमा रहेका बम नबुझाएको बेला बेला आंशका हुनेगर्छ ।
‘कहाँ कहाँ बम छन् भनेर खोज्नु पर्ने अवस्था देखिएको छ । सचेतना जगाउने तर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ’ नेपाल रेडक्रस सोर्साइटि पाँचथर शाखाका अधिकृत गरु तिम्सिना बताउँछन् ।