मेडलाइन होल्कोम्ब
मित्रता भनेको स्कुलबसमा तपाईंसँगै बस्ने वा बाल्यकालमा एउटै टिमबाट बेसबल खेल्ने व्यक्तिबारेको कुरा मात्र होइन । विशेषज्ञका अनुसार मित्रता मानव अनुभवको एक मुख्य घटक हो ।
अनुसन्धानअनुसार विशेषगरी वयस्क पुरुषलाई गहिरो र अर्थपूर्ण मित्रता निर्माण गर्न र त्यसलाई कायम राख्न निकै कठिन हुने गर्छ । सर्भे सेन्टर अन अमेरिकन लाइफले सन् २०२१ मा गरेको एउटा सर्वेक्षणअनुसार सर्भेमा सहभागी आधाभन्दा कम पुरुषले मात्रै मित्रताबाट सन्तुष्ट भएको उल्लेख गरेका थिए । सहभागी १० मध्ये चार महिलाको तुलनामा पाँचमा एक पुरुषले मात्र पछिल्लो साता साथीहरूबाट भावनात्मक सहयोग पाएको बताएका थिए ।
क्यालिफोर्नियास्थित स्ट्यानफोर्ड विश्वविद्यालयमा केटाहरूको मनोविज्ञान विकास पढाउने जुडी यी–चुङ चु पुरुषबीच साथित्वको भावना किशोरावस्थाको मध्य र उत्तरार्धबाट खस्किन सुरु हुने र प्रौढावस्थामा त्यो निकै न्यून हुने बताउँछिन् । मित्रताको आत्मीयताको स्तर पनि महिलाहरूको तुलनामा पुरुषमा कम हुने गरेको अध्ययनले देखाएको उनको भनाइ छ ।
‘केटाहरूले भावनात्मक रूपमा विच्छेद हुन सुरु गर्ने होइन कि उनीहरू भावनात्मक रूपमा डिस्कनेक्ट (विच्छेद) नै बन्न पुग्छन्,’ न्युयोर्क विश्वविद्यालयका एप्लाइड फिजियोलोजीका प्राध्यापक तथा शोधकर्ता डा. निओबी वे भन्छन् । चु सबै मानिसमा अरूसँग भावनात्मक रूपमा आत्मीय सम्बन्ध राख्ने चाहना र क्षमता जन्मजात हुन्छ भन्छिन् । उनी हामीलाई आत्मीय सम्बन्ध बाल्यकालमा बाँच्नका लागि र त्यसपछि स्वस्थ रूपमा हुर्कनका लागि आवश्यक भएको ठान्छिन् । उनी थप्छिन्, ‘अनुसन्धानले घनिष्ठ मित्रताले हाम्रो मानसिक तथा शारीरिक स्वास्थ्यको रक्षा गर्ने देखाएको छ ।’
आत्मीय सम्बन्धलाई प्राथमिकता दिने पुरुषहरूले मानव स्वास्थ्यका दृष्टिले सबैभन्दा हानिकारक चिज अर्थात् एक्लोपनसँग लड्नुपर्दैन भन्छन्, न्यु जर्सीका मनोचिकित्सक डा. फ्रान्क सिलेओ । ‘पुरुषहरूमा यो संसारमा आफू एक्लो नभएको भावना गुमाउने जोखिम हुन्छ,’ अनुसन्धानलाई उद्धृत गर्दै सिलेओ भन्छन्, ‘(पुरुषहरूको) भावनात्मक व्याकुलताको प्रकटीकरणले भावनात्मक स्वास्थ्यमा सुधार ल्याउँछ, आफूलाई अरूले बुझेको भावना पैदा गर्छ र एक्लोपनको गुनासोमा कमी ल्याउँछ ।’
‘जसरी अधिकांश पुरुषले सही खानपान, व्यायाम, करियरमा सफलता र छोराछोरी हुर्काउनलाई प्राथमिकतामा राखेजसरी नै मित्रताको विकासलाई पनि प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने ।
पुरुषमा किन यति कठिन हुन्छ मित्रता ?
सन् १९९५ मा सिलेओले पुरुषहरूको मित्रतामाथि पहिलोपटक अनुसन्धान गर्न थाल्दा थुप्रै सहभागीले उनको सर्वेक्षण समलैंगिकताको बारेमा भएको अनुमान गरेका थिए । ‘पुरुष आत्मीयता स्वभावैले यौनिक हुन्छ भन्ने धारणा गलत हो । यो भावनाले केही पुरुषलाई गहिरो मित्रताबाट पछि हटाउँदै लाने उजागर भएको छ,’ उनले थपे, ‘अनुमानहरू बदलिन सक्छन्, तर सामाजिक दबाबहरू नबदलिन सक्छन्, जसले पुरुषहरूलाई घनिष्ठ मित्रताका लागि आवश्यक आत्मीयता र कमजोरीको अभिव्यक्ति कठिन बनाउँछ ।’
‘हामी सबै आफ्नो दुई पक्ष लिएर जन्मेका छौँ । कडा पक्ष स्थिर र स्वतन्त्र छ भने कोमल पक्ष कमजोर र अन्तरनिर्भर छ,’ डिप सेक्रेट्स : बोइज फ्रेन्डसिप्स एन्ड क्राइसिस अफ कनेक्सनका लेखक वेले भने । कठोर पक्षलाई मर्द र स्वाभाविक रूपमा चित्रण गरिएको र कोमल पक्षलाई स्त्रैण र त्यसभन्दा पनि नरम रूपमा चित्रित गर्ने गरिएको वेको भनाइ छ । केटाहरूले हुर्कनु र पुरुष बन्नुको अर्थ त्यो नरम पक्षलाई ओझेलमा पार्नु हो भन्ने सन्देश ग्रहण गर्छन् । यो मानसिकतालाई स्नायुविज्ञान, सामाजिक विज्ञान र विकास मनोविज्ञान सबैले नै पुरुषका निम्ति हानिकारक भएको देखाएको वेले बताए ।
‘हामीले मित्रताको लिंग स्त्रैण करार ग¥यौँ,’ चु भन्छिन्, ‘यदि यो स्त्रैण वा महिलाहरूको विशेषता हो भने त्यो पुरुषका लागि कमजोरी हुने भयो । तर, पुरुषले मित्रताको आवश्यकतालाई स्वीकार गर्छन् भनेचाहिँ त्यो उसको दायित्व बन्छ ।’
मित्रताको सम्बन्धलाई स्त्रीको स्वभाव करार गरिदिँदा त्यसको पुरुषमा स्पष्ट प्रभाव पर्ने ठान्छन् सिलेओ । उनका अनुसार सर्वेक्षणमा होमोफोबिया (समलैंगिकताप्रति नकारात्मक भावना) उच्च भएका पुरुषहरूमा घनिष्ठ र आत्मीय मित्रताको सम्भावना कम हुन्छ । ‘आफूलाई कठोर देखाउन खोज्ने र कोमलतालाई छिपाउन खोज्ने मनोभावनाले पुरुषहरूलाई मित्रता विकास गर्नबाट रोक्छ र त्यसले एक्लोपन, हिंसा र क्रोधतर्फ लैजान्छ,’ वे भन्छन्, ‘हामी आफ्नो स्वभावसँग टकरावको संस्कृतिमा बाँचिरहेका छौँ । यदि हामीले बच्चाहरूलाई उनीहरूको स्वभावविरुद्ध हुर्काउँछौँ भने तीमध्ये केहीलाई वयस्क हुनसमेत संघर्ष गर्नुपर्ने हुन सक्छ ।’
पार्टनर मात्र पर्याप्त हुँदैन, साथी पनि चाहिन्छन्
आत्मीयता खोज्ने हेट्रोसेक्सुअल (विपरीतलिंगीमा आकर्षित) पुरुषहरू आफ्नो जीवनमा रहेका महिला र आफ्ना रोमान्टिक पार्टनरहरूसँग मित्रता बनाउन सहज मान्छन् । उनीहरू आफ्नो कमजोरी महिला मित्रसँग खोल्न सहज महसुस गर्छन् भन्छन् वे । ‘यो राम्रो समाधानजस्तो लाग्न सक्छ तर यो न पुरुष, न त उसकी महिला मित्रलाई नै काम लाग्छ,’ सिलेओले भने । सबै कुरा रोमान्टिक पार्टनरसँग राख्दा त्यसले सम्बन्धमा तनाव उत्पन्न गर्न सक्ने उनको भनाइ छ ।
‘विभिन्न दृष्टिकोणको समर्थनका लागि धेरै व्यक्तिसँग मित्रता राख्नु महŒवपूर्ण हुन्छ,’ चुले थपिन्, ‘(पुरुष)ले मित्रता महिलाको मात्र कुरा होइन भनेर जान्नुपर्छ । पुरुषहरूले पनि घनिष्ठ मित्रता विकास गर्न सक्छन् भन्ने कुरा उनीहरूले बुझ्नुपर्छ ।’
एकै व्यक्ति वा एउटा सम्बन्धसँग मात्रै आफ्ना प्रश्न, चासो र चिन्ताका लागि निर्भर रहने कुराले सधैँ राम्रो सहयोग नगर्न सक्छ, यसैले समुहदाय महŒवपूर्ण हुन्छ । ‘अर्काे व्यक्तिसँग अन्तरंग कुरा गर्नुलाई एउटा पुरुष मित्रले धोका सम्झिन्छ,’ वे भन्छिन्, ‘तर महिला पार्टनर कृपया अरूसँग पनि मित्रता गाँस, अरूको दृष्टिकोण पनि ग्रहण गर भनिरहेकी हुन्छिन् ।’
कसरी निर्माण गर्ने मित्रता ?
तपाईं आफूसँग घनिष्ठ मित्र होस् भन्ने चाहनुहुन्छ भने भएकै मित्रतालाई गहि¥याउन सुरु गर्नु उपयुक्त तरिका हो । यहाँनेर सुरुमा तपाईंले आफ्ना कमजोरी ऊसामु प्रकट गर्न पनि पर्दैन । चुका अनुसार सुरुवात गर्ने शक्तिशाली तरिका वास्तविक प्रश्नहरूलाई सुन्ने र सोध्ने हो । ‘आफूप्रति कसैले साँच्चै सरोकार राख्छ भन्ने भरोसा हुँदा उसले मित्रतामा आत्मीयता पाउन थाल्छ,’ चु भन्छिन् ।
वेका अनुसार मित्रता विकास गर्न बेतुके बकबक वा नरम गफभन्दा पनि उसले आफ्नो पेसा वा रोजगारी, सबैभन्दा केमा आनन्द मान्छ, ब्रेकअपपछि उसले कस्तो महसुस गरेको छ जस्ता सान्दर्भिक सवाल–जवाफ उपयोगी हुन्छ । यो अशिष्ट पनि सुनिँदैन । अधिकांश मानिस यस्ता प्रश्न सोधियोस् भन्ने नै चाहन्छन् ।
प्रत्येक सम्बन्धको आफ्नै नियम र प्रोटोकल हुने र ती भित्रै रहेर मित्रताको विकास गर्नु राम्रो हुने सिलेओ बताउँछन् । तपाईंले साथीलाई कुनै कुरा गर्न सुरु गर्दा ऊ यसबारे कुरा गर्न हिचकिचाएको छनक पाउनुभयो भने त्यस विषयलाई छाडेर त्यो टपिकले आफूलाई कसरी सताइरहेको छ भनेर आफ्नै कमजोरीबारे उसलाई सुनाउन सक्नुहुन्छ ।
जिम वा सामुदायिक परियोजनाजस्ता गतिविधिमा संलग्न भएर पनि मित्रता विकासको अवसर सिर्जना गर्न सकिन्छ । त्यहाँ साझा उद्देश्यमार्फत आफूलाई अरूहरूसँग जोड्न सकिन्छ । यदि सुरुदेखि नै मित्रता निर्माण गर्नु छ भने मित्रता विकास गर्न चाहेको व्यक्तिलाई कफी वा खानाको निम्तो दिनु उपयुक्त हुने वेको भनाइ छ । मित्रताका निम्ति समय, प्रयास र मनसाय महŒवपूर्ण हुन्छ । मित्रता निर्माण गर्न समय दिनु र मित्रता देखाउनु महŒवपूर्ण हुन्छ । ‘यहाँ गुणस्तरले अर्थ राख्छ,’ सिलेओ भन्छन्, ‘यदि तपाईंसँग थोरै नै भए पनि गुणस्तरीय मित्र छन् भने त्यो धेरै साथी हुनुभन्दा उत्तम हो ।’ (सिएनएनबाट) – नेपालीमा ः नयाँ पत्रिकाबाट