पाँचथर– मेची राजमार्गको पाँचथरको हेवा खोलामा जडानको अन्तिम चरणमा पुगेको मोडुलर ब्रिज भाँचिएपछि गठित छानबिन समितिले नेपालका लागि नयाँ भएकाले दक्ष प्राविधिकको अभाव तथा जडानका लागि आवश्यक सामाग्री अभाव लगायतका कारण पुल भाँचिएको प्रतिवेदन दिएको छ ।
छानबिन समितिले भौतिक तथा यातायात मन्त्रालयलाई १३ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । जेठ–३१ गते ब्रिज भाँचिएपछि मन्त्रालयले सात दिनको समय सिमा दिएर सडक विभागको पुल महाशाखाको उपमहानिर्देशक ललिजन खनालको नेतृत्वमा पाँच सदसिय छानबिन समिति बनाएको थियो ।
भारत सरकारले ब्रिजमात्र उपलब्ध गराएको तर जोड्न आवश्यक सामाग्री नदिएको प्रतिवेदनमा उल्लेख छ । उत्पादकले स्पष्ट निर्माण विधि र चरण उपलब्ध नगराएको तथा डोनरले लन्चिङ किड्स, जडान मेनुअल, डिजाइन, ड्रोइङ उपलब्ध नगराएको उल्लेख गरिएको छ । सडक डिभिजन इलामले नयाँ पुल भएकाले जडानका लागि समस्या हुने भन्दै विभागलाई पत्र लेखेपछि भारतीय उत्पादक कम्पनीका इन्जिनियर समरजित दास झिकाइएको थियो । तिनै दासको भरमा ब्रिज जडानको काम भएको थियो ।
नेपालका लागि ७० मिटरको मोडुलर ब्रिज पहिलो पल्ट जडान हुन् लागेकाले प्राविधिक दक्षताको अभाव भएको प्रतिवेदनको आशय छ ।
यो पुल निर्माणमा प्रयोग हुने लन्चिङ किट, जडान सम्बन्धी मार्गदर्शन (गाइडलाइन), तथा आवश्यक प्राविधिक तालिम र दक्ष जनशक्ति नहुँदा कार्यमा असावधानी भएको देखिएको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक, निर्माण कम्पनीका प्राविधिक प्रतिनिधि र अन्य सम्बद्ध इन्जिनियरहरू पर्याप्त सावधानी नअपनाई, फिल्डमा आवश्यक अनुभव बिना काममा जुटेको पाइन्छ । यही कारणले पुल ढल्ने सम्भावना बलियो देखिएको प्रतिवेदनमा भनिएको छ ।
ट्याक्कै यही कारण भाँचियो भनेर प्रतिवेदनले किटान भने गरेको छैन । प्रतिवेदन तयार गर्दा प्रयोग गरिएका सामाग्रीको गुणस्तर कस्तो भन्ने ल्याब टेस्ट गरेको भने पाईदैन् ।
प्यानलहरू बाङ्गिदामा पनि कुनै क्यालकुलेशन विना उत्पादकको इन्जिनियरको भर परेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ ‘बाँया एब्युटमेन्टबाट पछाडी ६० फिटसम्म र दाँयाबाट करिब ११० फिट सम्म तिन लियरको ट्रस्ट दुई पङ्तीमा र पछाडीको ६० फिटसम्म र सो पछि ३० फिटसम्म तीन लियरको ट्रष्ट एकैपङतिमा, त्यसपछि ६० फिट दुई लिकरको ट्रस्ट एउटै लियमा र सो पछि ३० फिट एकपङतिको एक लियर ट्रस्ट भएकोमा तेर्सो/ठाडो स्वे ब्रेसिङ (पुललाई हल्लिन नदिने सहायक डण्डीहरू)अनुमानको आधारमा राखेको, ट्रान्सम (तेस्रो विमहरु) पनि टाढा–टाढा राखिएकोले बेण्डिङ (बाहिरी लोडका कारणले हुने वक्रता) मा सेक्सनको साइज नपुगेर र टोर्सनल बकलिंग (लोड समान रूपले नबाढिदा पुलको केहि भागमा अत्याधिक झुकाव) भई पुल भाँचिएको हुन सक्ने सम्भावना देखिन्छ ।’
छानबिन टोलीले स्थलगत अध्ययन तथा निर्माणमा जोडिएका विभिन्न पक्षसँग कुराकानी गरेको थियो । नेपालमा पहिलो सिङ्गल स्पान ७० मिटर लामो मोडुलर ब्रिज बन्नेवाला थियो ।
असार मसान्तमा सक्ने गरी दोभान–सुपर सौगात–लाइट बिल्डर्स जेभिलाई ठेक्का लगाइएको थियो । जडानको अन्तिम चरणमा पुल भाँचिदा तीन जना मदजुरको मृत्यु भयो भने तीन जना घाइते भएका थिए । ब्रिज भाँचिदा सिमरा उपमहानगरपालिका बारा–१२ का रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरीको मृत्यु भएको थियो । घाइते मध्ये दुई जना उपचारपछि घर फर्किएको र एकजनाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए । ७० मिटर लामो तथा ४ दशमलव २५ मिटर चौडाइ भएको ब्रिजको काम ८० प्रतिशत सकिएको थियो । भाँचिएपछि २० प्रतिशत सामाग्री बिग्रिएको छ ।
भारत सरकाको तर्फबाट मोडुल ब्रिज उत्पादक गार्डेन रीच शिपबिल्डर्स एण्ड इन्जिनियर्स लिमिटेड भारतले २०८० कार्तिक १४ गते ब्रिज उपलब्ध गराएको थियो । नेपालमा यसअघि ५० मिटरसम्मका बेलिब्रिजमात्र जडान हुन्थे ।
२०८० सालमा यहाँको पुल बगाएपछि बेलिब्रिज राखिएको थियो । २०८१ असोजमा बेलिब्रिज पनि बगाएपछि लामो मोडुलर ब्रिज जडान गरिएको थियो । वारिपारि पुल जोडिसकेपछि भाँचिएको थियो । भाँचिएको ब्रिज क्रेन झिकाएर फुकाल्ने काम हुँदै छ ।
उत्पादकबाट जडान मेनुअल, तरीका तथा प्राविधिक सहयोग लिएर पुनः जडान सुरु गर्नु पर्ने प्रतिवेदनको सुझाव छ । लन्चिङ किड्स सहित उत्पादक कम्पनीको प्राविधिक सहयोगमा पुनः जडान गर्नु पर्ने प्रतिवेदनमा सुझाव दिएको छ । भौगोलिक विकटता र धेरै नदीनाला भएकाले नेपालमै यस्ता पुलको डिजाइन, निर्माणमा पहल गर्ने, तालिम दिने, लङचिङ किड्स खरिद गर्ने जस्ता काम गर्नुपर्ने सुझाव दिइएको छ ।