तेह्रथुम । लोकल मदिरा (रक्सि) सेवनबाट तेह्रथुमको आठराई गाउँपालिकामा एक बालकको मृत्यू भएको छ । दुई जना बालकहरु बिरामी परेका छन् ।
आठराई गाउँपालिका-४ ईवाका धनबहादुर इङनामका ७ वर्षीय छोरा युनछोक (निसन) इङनामकोे मृत्यु भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले बताए । युनछोक (निसन)को बुधबार विहान प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिबजारमा उपचारको क्रममा मृत्यू भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको १० मिनेटमै निसनको मृत्यू भएको स्वास्थ्य केन्द्रले जनाएको छ । बिरामी भएका ९ वर्षीय केशरदिप इङनाम र ९ वर्षीय सुरोज इङनामको अवस्था गम्भिर बनेपछि प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिबजारबाट थप उपचारको लागि पाँचथर जिल्ला अस्पताल फिदिममा पठाइएको छ ।
घरबाट विद्यालय हिनेका बालकहरु छिमेकीको घरमा पुगि रक्सि खाएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो रक्सि खाए लगतै बालकहरुले बान्ता गरेको र केहिछिनमै बेहोस भएको बताईएको छ ।
बालकहरुलाई रक्सि दिने २५ वर्षीय छिमेकी पुक्के भनिने सनकुमार कुरुङवाङलाई ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले नियन्त्रणमा लिएको छ ।
कुरुङवाङले आँगनमा रहेको मकैको घोघा घरभित्र ओर्सान लगाई रक्सि खान दिइएको प्रहरीले जनाएको छ । बालकहरुले सेवन गरेको कुरुङवाङ घरमा रहेको रक्सि प्रहरीले बरामत गरेको छ ।
निसन शवको प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम पछि परिवारलाई प्रहरीले जिम्मा लगाएको छ । निसन केलिङ आधारभूत विद्यालयको बालकक्षाका विद्यार्थि थिए ।
विरामी परेका केशरदिप इङनाम र सुरोज इङनाम सेही विद्यालयका कक्षा ३ र कक्षा २ का विद्यार्थी हुन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।