पाँचथर । तेह्रथुमको इवामा जन्मेका वरिष्ट अधिवक्ता एवं प्रा. डा. कुमार इङनामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरिने भएकाे छ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकाल ८३ दिन बाँकी रहँदा शुक्रबार (मंसिर २६) इङनामसहित चारजनालाई मन्त्रीमा नियुक्ति सिफारिस गरेकी हुन् ।
प्रा. डा. इङनाम साउनमा काठमाडौं स्कुल अफ ल (केएसएल)बाट प्रिन्सिपल पदबाट उमेरका आधारमा सेवानिवृत्त भए, तर प्राध्यापन कर्म भने छाडेका थिएनन् । झापा हुँदै काठमाडौंसम्मको आफ्नो अध्ययन र पेशागत यात्रा अगाडि बढाएका इङनामले प्राध्यापन र वकालत दुवै क्षेत्रमा योगदान पुर्याएका छन् ।
मन्त्री बनेपछि देशको वर्तमान राजनीतिक अवस्था र चुनावप्रति आफ्नो दृष्टिकोणबारे उनले भने, “अहिले पनि अस्थिरताको चक्र सकिएको छैन । दलहरू सर्वोच्चमा रिट लिएर गएका छन् । अहिलेका लागि सर्वोत्तम विकल्प भनेको चुनाव हो । चुनावबाट जसले म्यान्डेट पाउँछ, उसैले जिम्मेवारी लिने अवस्थाले देशलाई सही मार्गमा हिँडाउन मद्दत गर्छ ।”
तेह्रथुमको इवाबाट राजधानी काठमाडौंसम्मको लामो यात्रा तय गरेका प्रा. डा. इङनाम अब मन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारीमा छन् र आफ्नो अनुभव र ज्ञानलाई देशको समृद्धि र विकासमा योगदान पुर्याउने लक्ष्य राखेका छन् ।




